नारायणकाजीका आँखामा माओवादी पदाधिकारीका सफलता र असफलताका कसी

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीका पदाधिकारीका लागि चारवटा कार्यभार स्मरण गराएका छन् ।

पार्टीका नेताहरुले ती कार्यभार पूरा गर्न सक्ने वा नसक्ने भन्ने कुराले सफलता वा असफलता निर्धारण हुने उल्लेख गरका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्–

हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को यसअघि नै निर्णय भइसकेको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बाहेक महासचिवलगायत बाँकी पदाधिकारीहरुले पूर्णता पाएको छ । आठौं राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानको व्यवस्था र पछिल्लो केन्द्रीय समितिको बैठकको निर्देशनअनुसार पदाधिकारीहरु चयनका क्रममा जिम्मेवारी प्राप्त गर्नुभएका सबै कमरेडहरुलाई बधाई तथा सफल कार्यसम्पादनको निम्ति शुभकामना ।

तर यस अवसरमा स्पष्ट हुनु पर्ने कुरा के हो भने हाम्रो सफलता वा असफलता हाम्रा सामु चुनौतिपूर्ण रुपमा उपस्थित निम्न कार्यभारहरु पूरा गर्न सक्नेछौं वा सक्नेछैनौं भन्ने कुराले निर्धारित गर्नेछ ।

एक, राष्ट्रिय एकता सुदृढ गर्नु र नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्नु र सबल पार्नु । नेपालको भूराजनीतिक संवेदनशीलताको उपेक्षा, स्वतन्त्र एवं असंलग्न परराष्ट्रनीतिबाट बिचलन, शक्तिराष्ट्रहरुको संलनता एवं भूमिकामा बढोत्तरीसहित राष्ट्रिय स्वाधीनतामा संकट तथा जोखिमको खतराबाट मुलुकलाई बचाउनु छ ।

दुई, नेपालमा ठूलो बलिदानीपूर्ण संघर्षद्वारा स्थापित संघीय गणतन्त्रात्मक समाजवादउन्मुख समावेशी लोकतन्त्रका उपलब्धिहरुको रक्षा गर्नु, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नु, विस्तार एवं विकास गर्नु । तर परम्परागत संसदीय गणतन्त्रभन्दा उन्नत तथा नयाँ जनवादभन्दा भिन्न हाम्रो मौलिकतामा स्थापित आजको नयाँ प्रकारको लोकतन्त्रको रक्षा एवं विकास गर्नु पर्नेमा व्यवहारमा प्रतिगमनलाई व्यहोर्दै परम्परागत संसदीय गणतन्त्रको अभ्यासको दिशामा अघि बढिरहेको नकारात्मक राजनीतिक अवस्थालाई फेरेर अग्रगामी दिशामा लैजानु आवश्यक छ ।

तीन, राजनीतिक परिवर्तनलाई सामाजिक (आर्थिक क्षेत्रमा विस्तारित गरेर सामजिक न्यायसहितको समृद्धि हाँसिल गर्नु र जनजीविकाका आधारभूत समस्याहरु समाधान गर्दै समाजवादको आधार तयार पार्नु पर्दछ । तर राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको अपेक्षा पुरा हुन नसकेको र तात्कालिक आर्थिक संकट एवं जोखिम समाधान भइनसकेको अवस्था छ । बैदेशिक सहयोग, भन्सार राजस्व र विप्रेषणबाट देश चलाउने प्रवृत्ति, पुँजीगत खर्च कार्यान्वयनको दयनीय अवस्था एवं कहालीलाग्दो व्यापारघाटाको निरन्तरता, चरम भ्रष्टाचार र नवउदारवादको पक्षपोषणबाट आर्थिक संकटको समाधान र न्यायपूर्ण विकास असम्भव छ भन्ने कुरा स्पष्ट छ । हामीले यसलाई बदल्नै पर्दछ ।

चार, समाजवाद निर्माणको रणनीतिक लक्ष्य हासिल गर्नु, समाजवादी क्रान्ति सम्पन्न गर्नु । हाम्रो समाजवाद एकातिर सारतत्वमा पुँजीवाद नै रहेको प्रजातान्त्रिक समाजवाद भन्दा बिल्कुल भिन्न रहनेछ भने अर्कोतिर गतकालमा अभ्यास गरिएको ‘सोभियत मोडेल’ को समाजवादका कमजोरीहरु सच्याइएको आजको २१औं शताब्दी अनुरुपको नयाँ मोडेलको उन्नत समाजवाद हुनेछ । यो वैज्ञानिक समाजवादको मूल मान्यतामा आधरित हुनेछ ।

उपरोक्त कार्यभार पूरा गर्नको निम्ति आम रुपमा नेपाली राजनीतिमा देखा परेको बिकृति एवं भ्रष्टीकरण (आदर्श, विचार, सिद्धान्त, देश तथा जनताको हित केन्द्रीत लक्ष्य, मूल्य, नैतिकताको डरलाग्दो ह्रासको बेग) लाई रोक्न र फेर्न जरुरी छ । राजनीति सफा गर्ने आन्दोलनात्मक अभियानबिना यो सम्भव छैन । नेपाली देशभक्तिपूर्ण आन्दोलनको अग्रणी शक्ति र नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको नेतृत्वदायी शक्ति हुनुका नाताले नेपाली कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीको मुख्य समस्याका रुपमा रहेको वैचारिक–साँस्कृतिक समस्याको समाधान गर्नु आजको आवश्यकता हो । अर्थात वैचारिक साँस्कृतिक रुपान्तरणको ठूलो अभियानद्वारा पार्टी र कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी रुपान्तरण र पुनर्गठन यतिबेलाको ऐतिहासिक आवश्यकता हो ।

इतिहासले सुम्पिएको यो जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै यसलाई पूरा गर्ने दिशामा दृढतापूर्वक अघि बढ्नु हाम्रो कर्तव्य हो । तात्कालीन रुपमा आसन्न चुनावी मोर्चाको संघर्षलाई त्यस अन्तर्गतकै कामको रुपमा बुझिनु पर्दछ । त्यसैले अध्यक्ष कमरेडको नेतृत्वमा रहेको वर्तमान पदाधिकारी टिमले यस ऐतिहासिक कार्यभार पूरा गर्ने दिशामा ठोस गुणात्मक कार्य गर्ने जिम्मेवारी प्राप्त नेतृत्व टिमको रुपमा आफूलाई बुझ्नुपर्दछ र त्यसैअनुसार एकता एवं समर्पणका साथ क्रियाशील हुनुपर्दछ । अन्यथा हाम्रो पदको कुनै तात्विक अर्थ रहनेछैन । आफ्नो तर्फबाट यसका निम्ति प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण पदाधिकारी कमरेडहरुलाई समेत हार्दिक एवं गम्भीर अपील गर्दछु । हाम्रो सफलता, असफलताको कसी यही हुनेछ ।

उपरोक्त चार कार्यभारहरु पूरा गर्न र त्यसका लागि हाम्रो पार्टी र समग्र कम्युनिस्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन गर्न अघि बढ्दा सर्वप्रथम हाम्रो सकारात्मक पक्षहरुको बारेमा स्पष्ट हुँदै त्यसलाई आत्मसात गर्नु जरुरी छ ।

एक, हाम्रो पार्टी अहिलेकै अवस्थामा पनि नेपालका प्रमुख राजनीतिक पार्टीहरुमध्ये सबैभन्दा राम्रो परिवर्तनकारी पार्टी हो । दुई, सामाजिक न्यायसहितको समृद्धिको तात्कालिक कार्यनीतिक कार्यभार र वैज्ञानिक समाजवादको मूल्य मान्यतामा आधारित समाजवाद निर्माणको रणनीतिक कार्यभार पूरा गर्न सक्षम क्रान्तिकारी पार्टीका रुपमा रुपान्तरण एवं विकासको सम्भावना पनि हाम्रो पार्टीमा नै छ ।

निम्न तथ्यहरुले हाम्रो पार्टीमा नै त्यो सम्भावनाको आधार रहेको स्पष्ट गर्दछ । एक, आजको परिवर्तन र उपलब्धिको मुख्य बाहक शक्ति हाम्रो पार्टी हो, जुन कुरामा हामी गर्व गर्न सक्छौं । दुई, ऐतिहासिक परिवर्तनलाई संस्थागत गरिएको वर्तमान संविधानमाथि प्रतिगामी प्रहार हुँदा प्रतिगामी कदमका विरुद्ध व्यापक संघर्षको अगुवाई गरेर तात्कालिक प्रतिगमनलाई असफल पार्न मुख्य भूमिका खेल्ने शक्ति पनि हाम्रो पार्टी नै हो । तीन, हाम्रो पार्टी आफ्नो मूल नेतृत्वदायी भूमिकामा हाँसिल गरिएको परिवर्तनलाई ऐतिहासिक महत्वको परिवर्तन ठान्दछ र यसका उपलब्धिहरुको रक्षाको पक्षमा पनि दृढ छ । तर हाम्रो पार्टी अहिलेको यो परिवर्तनलाई पूर्ण र अन्तिम ठान्दैन, बरु समाजवादी व्यवस्थाको स्थापना गर्न दृढ छ । चार, हाम्रो पार्टी नै त्यो पार्टी हो जसले आफ्नो कमजोरी र रोगको स्पष्ट पहिचान एवं. सार्वजनिक स्वीकारोक्तिका साथ त्यसलाई सच्याउने वा उपचार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तसर्थ हाम्रो पार्टीको रुपान्तरणको सम्भावना छ किनकि यो सम्भावनाको आधार हामी भित्र छ । तर त्यसको शर्त हो, हामी आफै आफ्नो निष्कर्षप्रति इमान्दार भएर रुपान्तरित हुन तयार हुनुपर्छ । सही नयाँ निष्कर्ष तर पुरानै यथास्थितिवादी व्यवहारको निरन्तरता आजको हाम्रो मुख्य समस्या र चुनौती हो । यसको सकारात्मक समाधान गर्ने साहास हामीले देखाउनै पर्छ । पार्टीले हामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको यस अवसरमा आउनुहोस एकताबद्ध भएर पूर्ण समर्मणका साथ यस दिशामा अघि बढ्ने संकल्प गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?