प्रदेश नेतृत्वबारे वाम गठबन्धनमा छलफल बाँकी

प्रदेश सभाको समानुपातिकतर्फ सीटको औपचारिक बाँडफाँटसँगै अधिकांश प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का जस्तो देखिएपछि अब प्रदेश नेतृत्वबारे छलफल गर्ने तयारीमा रहेको एमालेका एक नेताले बताएका छन्।
पहिलो हुनेले जित्ने प्रणालीतर्फ पनि प्रदेशसभामा वाम गठबन्धनका दल सोही प्रदेशबाहेक अन्यमा अरु पार्टीभन्दा अगाडि छन्।
तर प्रदेशहरुमा नेतृत्व कसको हुने भन्ने बारेमा भने अनिर्णित जस्तो देखिएका दलहरु समानुपातिक सीट बाँडफाँटसँगै त्यसबारे छलफल गर्ने तयारीमा छन्।
निर्वाचन आयोगले शुक्रवार बाँडफाँट गरेको सीट अनुसार सातवटै प्रदेश सभाको समानुपातिकतर्फ एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले कुल २२० सिटमध्ये ११० वटा पाएको छ।

बहुमत

प्रदेशस्तरमा २ नम्बर बाहेकका सबै प्रदेशमा गठबन्धनको बहुमत पुगेको देखिन्छ।
ती प्रदेशमा गठबन्धनको सरकार बनाउने तय भइसकेको तर नेतृत्वबारे छलफल हुन बाँकी नै रहेको नेताहरुले बताएका छन्।
कसले कहाँ जितेका छौँ त्यही आधारमा पार्टीभित्र र माओवादीसँग छलफल गर्न बाँकी छ

सुरेन्द्र पाण्डे, एमाले नेता

एमालेका नेता सुरेन्द्र पाण्डे भन्छन्, “एउटा अवधि एउटाले अर्को अवधि अर्कोले गर्ने भन्ने सहमति भएमा सबै प्रदेशमा सबैले नेतृत्व गर्न सकिने भयो।
त्यसैले कसले कुन कुन प्रदेशमा कसरी नेतृत्व गर्ने भन्ने विभिन्न प्रारुपबारे छलफल भएको छैन। कसले कहाँ जितेका छौँ त्यही आधारमा पार्टी भित्र र माओवादीसँग छलफल गर्न बाँकी छ।”
एमाले, प्रदेश १ र ३ मा एक्लै सरकार बनाउन सक्ने अवस्थामा समेत छ।
प्रदेश १ मा कुल ९३ सीट मध्ये बहुमतका लागि ४७ चाहिनेमा एमाले एक्लैले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सीट ल्याएको छ।

समानुपातिक

प्रदेश ३ मा कुल ११० सीटमध्ये बहुमतका ५६ आवश्यक पर्नेमा एमालेले समानुपातिकसहित ५८ सीट हासिल गरेको छ।
तर प्रदेश २ मा भने दुई मुख्य तराई केन्द्रित दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको सीट जोड्दा बहुमत पुगेको छ।
कुल १०७ सीटमा बहुमतका लागि ५४ सिट आवश्यक पर्नेछ जुन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको समानुपातिकतर्फ समेत गरी ठिक्क पुग्नेछ।
तर ती दुवै दलमा मुख्यमन्त्रीको आकांक्षी भएकाले नेतृत्वको टुंगो सहजै लाग्ने देखिंदैन।
राजपा नेपालको अध्यक्षमण्डलका एक सदस्य अनिलकुमार झा भन्छन्, ‘स्पष्ट बहुमत हुँदा फोरमले यताउता गरेन भने राजपा र फोरमको संयक्त सरकार बन्छ।’

असहज

प्रदेश ४ मा कुल ६० सीटमध्ये प्रदेश सरकार गठनका लागि ३१ आवश्यक रहेकोमा एमाले र माओवादी केन्द्रको मिलाएर ३९ पुग्छ।
स्पष्ट बहुमत हुँदा फोरमले यताउता गरेन भने राजपा र फोरमको संयक्त सरकार बन्छ

अनिलकुमार झा, नेता, राजपा नेपाल

प्रदेश ५ मा एमाले एक्लैले समानुपातिक र प्रत्यक्ष गरी ४१ सीट ल्याएको छ।
तर ८७ सदस्य रहने उक्त प्रदेशसभामा सरकार गठनका लागि ४४ सीट चाहिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?