लियोनार्दो दा भिन्चीको पेन्टिङ ४५ अर्बमा लिलाम

लियोनार्दो दा भिन्चीले बनाएको जीसस क्राइस्टको पेन्टिङ ४५० मिलियन डलर (करिब रु ४५ अर्ब) मा बिक्री भएको छ ।

‘संसारका रक्षक’ नामको ५०० वर्ष पुरानो यो पेन्टिङ यसै महीना न्यूयोर्कमा भएको लिलामीमा साउदी अरबका राजकुमारले खरिद गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो पेन्टिङ न्यूयोर्कबाट ‘लुभ्र अबू धाबी म्यूजियम’ ल्याउन लागिएको उक्त संग्रहालयले जनाएको छ । यसलाई कलाको क्षेत्रमा भएको अहिलेसम्मको महंगो लिलामी भनिएको छ ।

२० मिनेटसम्म चलेको लिलामीमा एक अज्ञात क्रेताले टेलिफोनमा बढाबढ गरेर यो पेन्टिङ खरिद गरेका थिए र उनी साउदी अरबका राजकुमार बदर बिन अब्दुल्ला बिन मोहम्मद बिन फरहान अल सउद रहेको ‘न्यूयोर्क टाइम्स’ले उल्लेख गरेको छ । बदर बिनले बोली लगाए पनि वास्तवमा यो साउदी युवराज मोहम्मद बिन सलमानले खरिद गरेको उक्त पत्रिकाको दाबी छ ।

लियोनार्दो दा भिन्सीको सन् १५१९ मा मृत्यु भएको थियो । अहिले उनका करिब २० वटा मात्रै पेन्टिङ छन् ।

यो पेन्टिङ भिन्सीले सन् १५०५ मा बनाएको र यो मात्रै निजी स्वामित्वमा रहेको मानिएको छ ।

पेरिसको प्रसिद्ध लूभ्र संग्रहालयको सहयोगम संयुक्त अरब इमिरेट्समा निर्मित ‘लूभ्र अबू धाबी’ संग्रहालय यसै महीनादेखि शुरु भएको हो । यो संग्रहालयमा फ्रान्सबाट थुप्रै कलाकृति सापटी लिएर राखिएको छ । यि कलाकृति र प्रवन्धकीय सल्लाहका लागि संग्रहालयले फ्रान्सलाई अरबौं रुपैयाँ दिने गरेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?