पाठकको नेतृत्वमा अनेसास जापानको नयाँ नेतृत्व चयन, घिमिरेको ‘एक्लो बिजेता’ बिमोचन

जापान । टोकियोको शिनओकुवोमा आयोजित अनेसास जापानको ४२ औँ साहित्य श्रृंखलामा विष्णु प्रसाद घिमिरेको पहिलो कृति ‘एक्लो बिजेता’ बिमोचन गरिएको छ । आइतबार सम्पन्न कार्यक्रमले दिप पाठकको नेतृत्वमा अनेसासको नयाँ नेतृत्व समेत चुनेको छ ।

१०९ औँ लक्ष्मी जयन्तीको सम्झना स्वरुप महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्पण गरी सुरुवात गरिएको कार्यक्रममा तीन कृति सार्वजनिक गरियो । स्रष्टा विष्णु प्रसाद घिमिरेको ‘एक्लो विजेता’ नामक पहिलो कविता संग्रह, अनेसास जापानको ‘नेपाली डायस्पोरा’ (जापान विमोचन) तथा साहित्यकार हरि कल्पितको कथा संग्रह ‘आस्था’ को विमोचन गरिएको हो ।

‘एक्लो विजेता’ माथी अनेसास जापानका पूर्वअध्यक्ष बेलुकाजी थापाले टिप्पणी राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपाली समाजमा सचेतना फैलाउन साहित्यले महत्वपूर्ण भूमिका खेल्ने भएकाले साहित्य सृजनामा सर्जकहरुले संवेदनशील भएर लाग्नुपर्ने बताए ।

उनले नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउनका लागि जापानी लगायत विभिन्न भाषामा नेपाली साहित्यिक कृतिहरुको अनुवाद गर्न आग्रह समेत गरे । यसका लागि दूतावासले आवश्यक सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

त्यस्तै विशेष अतिथि एवम् अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल (माइला)ले नेपाली साहित्यलाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि स्रष्टाहरुले सृजनाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशेष अतिथिको रूपमा आर्इसीसी एशिया प्यासिफिकका उपसंयोजक पारसमणि पोखरेल र अतिथिहरुमा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?