‘तत्काल उत्तर कोरियाले अर्काे क्षेप्यास्त्र परीक्षण गर्ने सङ्केत छैन’

टाेकियाे । उत्तर कोरियाले तत्कालै अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको भनिए पनि त्यसको कुनै सङ्केत नभेटिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ । 
विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले यसै महिनाको सुरुवातमा एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको थियो । त्यसपछि पनि उसले लगत्तै अर्काे क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भनी समाचारहरु आएका थिए ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा बिहीबार सोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा दक्षिण कोरियाली सैन्य प्रमुखले सो जानकारी दिए ।

सन् १९५० देखि १९५३ सम्म भएको उत्तर र दक्षिण कोरियाबीचको युद्धपछि भएको सैन्य सम्झौताको ६४ औँ वार्षिकोत्सवको अवसरमा उत्तरले यसै हप्ताभित्र अर्काे परीक्षण गर्न लागेको भनी समाचार आएको थियो ।

‘तर तत्कालका लागि उत्तर कोरियाले उत्तर र दक्षिण कोरियाली सैनिक सम्झौताको अवसर पारेर यस्तो परीक्षण गर्नसक्ने भनी आएको समाचार सही हुने अवस्था देखिँदैन’ सैनिक प्रमुखले भने ।

हालैका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उत्तर कोरियाले अर्काे क्षेप्यास्त्र हान्ने तयारी गरिरहेको बताएका थिए । सो समाचारको दक्षिण कोरियाली रक्षा मन्त्रालयले यसअघि पनि खण्डन गरेको थियो ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले आगामी केही समयभित्रै उसले अर्काे क्षेप्यास्त्र परीक्षण गर्ने बारेमा गरिएको खोजीमा त्यस्तै कुनै पनि सङ्केत नपाइएको जानकारी दिएको छ ।

यसअघि उत्तरले जुलाई ४ मा गरेको परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ । विज्ञहरुले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेको समेत बताएका छन् ।

यसअघि जुलाई ४ मा गरिएको क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाले गरेको पाचौँ परीक्षण हो । यस लगत्तै उसले अर्काे छैठौँ र यस्तै शक्तिशाली परीक्षणको तयारी गरिरहेको अनुमानका बारेमा बिहीबार दक्षिण कोरियाले स्पष्ट गरेको हो ।

उत्तर कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तररुपमा आणविक परीक्षण जारी राखेको छ । साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया , अमेरिका र  जापानकाे विरोध पनि गर्ने गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दिँदै आएका छन् ।

उत्तर कोरियाली राजधानी प्योङ्याङ्को नजिकको समुद्रबाट परीक्षण गरिएको यो क्षेप्यास्त्र अलास्कासम्म पुग्नसक्ने भनिएको थियो । तर दक्षिण कोरियाले भने मङ्गलबारको यो परीक्षण बढीमा ९३० किलोमीटरसम्म मात्र पुग्न सक्ने बताएको छ ।

जापानले भने सो क्षेप्यास्त्र करिब दुई हजार ५०० किलोमीटरसम्म मार हान्न सक्ने क्षमताको रहेको अनुमान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?