टोकियोबाट हराएका दुई चिनियाँ महिला मृत फेला, घटनाको अनुसन्धान जारी

टोकियो । जापानको राजधानी टोकियो नजिकै हराइरहेका दुई जना चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन् । 

जापानको प्रहरीले उनीहरू टोकियो नजिकै मृत अवस्थामा भेटिएको पुष्टी गरेको चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुअङले शुक्रबार जानकारी दिए  ।

दुवै जनाको शव टोकियो नजिकैको पहाडी जङ्गलमा बाकसभित्र राखेर फालेको अवस्थामा भेटिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानमा रहेको चिनियाँ दूतावासले दुई जना चिनियाँ महिला जापानको योकोहामाबाट जुलाई ६ तारिखदेखि हराइरहेको मङ्गलबार जनाइएको पनि प्रवक्ता गेङले बताए  ।

त्यसपछि चिनियाँ दूतावासले जापानको प्रहरीलाई भेटेर आपतकालीन खोजी तथा उद्धार संयन्त्र निर्माण गरी पूर्ण गतिमा उनीहरूको खोजी गरिदिन आग्रह गरेको थियो । सोही आग्रह अनुसार नै प्रहरीले खोजी गर्दा शुक्रबार उनीहरूको शव भेटिएको प्रवक्ताको भनाई छ ।

उनले मृतकका परिवारजन र आफन्तहरूप्रति सहानुभूति पनि व्यक्त गरे  । जापानमा रहेको चिनियाँ दूतावासले दोषी पक्राउ गरी कारबाही गराउन नजिकबाट लागिरहेको उहाँले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?