एनआरएनए कान्तोको अधिवेशनमा भएको घटनाप्रति पत्रकार महासंघ जापानको ध्यानाकर्षण

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले गैरआवासीय नेपाली संघ जापान, कान्तो क्षेत्रको अधिवेशनका क्रममा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारको भत्सर्ना गरेको छ ।

आइतवार भएको कान्तोको ५ औं अधिवेशनका क्रममा समाचार संकलनका लागि अधिवेशन स्थलमा सञ्चारकर्मी माथि दुर्व्यवहार भएको भन्दै महासंघले आप्पति जनाएको हो ।

अध्यक्ष मोहन घले र सचिव ऋतुकुमार दुराको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा घटनाप्रति नेपाल पत्रकार महासंघ जापान शाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– ‘अधिवेशनमा समाचार संकलन गरिरहँदा संचारकर्मीहरुमाथि समाचार संकलन कार्यमा प्रभाव पार्ने, संचारकर्मीहरुको क्यामेरा तथा मोवाईलमा कैद भएका सामग्रीहरु जबरजस्ती डिलेट गर्न धम्की दिने जस्ता गतिविधीहरु भएको हुँदा स्वतन्त्र पत्रकारिताको सिद्धान्त र मर्म विपरित संस्थाका केही व्यक्तिहरुद्वारा संचारकर्मीहरु माथि भएको हस्तक्षेपप्रति पत्रकार महासंघ जापान शाखा गहिरो खेद प्रकट गर्दछ ।’

महासंघले आइतबारको घटनाको खेद प्रकटसहित आगामी दिनहरुमा पनि स्वतन्त्र प्रेस माथि यस्ता घटनाहरु नदोहोरियोस भन्नका लागि सचेत रहन सरोकारवालालाई सचेत समेत गराएको छ ।

प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?