जापानमा ओभरटाईम कामका कारण आत्महत्या बढेपछि सरकार द्वारा विशेष अभियान सुरु

जापान । जापानमा अत्याधिक कामका कारण युवाहरुले आत्महत्या गर्न थालेपछि श्रम मन्त्रालयले सचेतना अभियान सुरु गरेको छ ।
जापानमा अत्याधिक काम गरेर मृत्यु हुने तन्नेरी कामदारका परिवारले विभिन्न स्कूलका विधार्थीहरुलाई अत्याधिक कामका कारण हुने हानिको बारेमा जापानका विभिन्न स्थानहरुमा गएर जानकारी दिने अभियान सुरु गरेका छन् ।

यसरी मृत्यु भएका यूवा मजदुरका परिवारजन द्वारा नै शिक्षित हुने अभियानको प्रायोजन जापान सरकारले गरेको हो । “मेरो छोरोको काँधमा ठुलो जिम्मेवारी थियो जसका कारण उसले मध्यरातसम्म काम गर्ने गर्थ्यो ।उसले ३७ घण्टा लगातार काम गर्ने गर्थ्यो । ” मिचियो निसिगाकीले आफ्नो छोराको बारेमा बताए ।
कानागावामा रहेको आईटि कम्पनिमा २७ वर्षीय उनको छोराको निधन अत्याधिक कामको तनावको कारणले सन् २००६ को जनवरीमा भएको थियो ।
जापानकोठुलो व्यापारिक एजेन्सी डेन्सुमा अत्याधिक कामका कारण २४ वर्षीय एक व्यक्तिले २०१५ को डिसेम्बरमा आत्महत्या गरेपछि ड्युटीको काम भन्दा थप काम गर्दा हुने मृत्यु वा आत्महत्याको विषयमा चर्चा हुन थालेको हो ।
पछिल्लो वर्षको सेप्टेम्बर महिनामा टोक्यो मजदुर नियमन विभागले मत्सुरी ताकाहासीले अत्याधिक कामको कारण आत्महत्या गरेको पत्ता लगाएको थियो ।विभागका अनुसार ताकाहासीले महिनामा १०५ घण्टा आफ्नो ओभरटाईम काम गरेको जबकी नियम अनुसार महिनामा ७० घण्टा मात्र ओभरटाईम काम गर्न पाउने प्रावधान रहेको छ ।

यो वर्षको मार्च महिनापछि जापानको श्रम मन्त्रालयले ८७ वटा ओभरटाईमका कारण पर्ने असरका बारेमा शिक्षा दिने कार्यक्रम आयोजना गरिसकेको छ । मन्त्रालयका अनुसार सन् २०१८ मार्च सम्ममा २०० वटा त्यस्ता कार्यक्रम ओभरटाईमका कारण मृत्यु भएका व्यक्तिहरुको परिवारको उपस्थितिमा सम्पन्न गरिने जनाईएको छ ।

अभियानको क्रममा फ्रेवुअरी महिनामा तोसिमासा यामाशिता वकिलले टोक्योमा रहेको कैजियो जुनियर विद्यालयको भ्रमण गरेका थिए ।
जहाँ विद्यार्थीहरुलाई ओभरटाईम कामबाट हुने समस्याहरुको बारेमा भविष्यमा कसरि सामना गर्ने भन्ने विषयमा वकिलले छलफल गरेका थिए । ओभरटाईमका कारण मृत्यु हुनेको संख्या बढ्न थालेपछि जापानमा अहिले यो विषयलाई गम्भीर ढंगले लिन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?