भूकम्प पछिको पुनःनिर्माणमा जाइका, जापान सरकारले यसरी गर्दैछ नेपालको पुनःनिर्माणमा सहयोग

काठमाडौँ । गोरखा भूकम्पपछिको पुनःनिर्माणमा नेपालका लागि जापान सहयोग नियोग (जाइका) ले गरेको आर्थिक तथा प्राविधिक सहयोगको प्रशंसा गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र गृह मन्त्रालयले संयुक्त रूपमा जाइकाको सहयोगमा  गोरखा भूकम्पको दोस्रो वार्षिकीको अवसरमा आयोजना गरेको गोष्ठीका सहभागीहरूले पुनःनिर्माण सम्बन्धी पछिल्ला कार्यका बारेमा समिक्षा गर्नुभएको थियो ।

“भूकम्पपश्चातको पुनर्निर्माण देखि विपद् जोखिम न्यूनीकरणसम्म ः नेपालको पुनरुत्थान तथा पुनःनिमार्णमा अझ सुदृढ निर्माणलाई मूलप्रवाहीकरण गर्दाका सिकाइहरू” विषयक गोष्ठीमा विगत दुई वर्षमा पुनरुत्थान तथा पुनर्निर्माणको विभिन्न क्षेत्रहरूमा जाइकाको योगदान सहितको प्रगति तथा उपलब्धिलाई प्रकाश पारिएको थियो ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले पुर्नउत्थानको कार्यमा धेरै चुनौतीहरू देखा परेपनि विभिन्न साझेदारहरूको सहयोगबाट अझ सुदृढ पुनःनिर्माणको सन्देश गाउँगाउँमा पुगेकोले बलियो संरचना तथा भूकम्प प्रतिरोधी घर बनाउने अभियान अघि बढेको बताउनुभयो ।

सो अवसरमा जाइकाबाट सहयोग पाएका दुई जना भूकम्प पीडितहरू सिन्धुपाल्चोकका भोजबहादुर कार्की र गोरखाका रसमाया घलेले आफ्नो जीवनलाई पुनः सामान्य बनाउने क्रममा भोगेका दुःख, सरोकार तथा मुद्दाहरू उठाउनुभएको थियो ।

कार्यक्रममा जाइका मुख्यालयका आगन्तुक वरिष्ठ प्राविधिक सल्लाहकार किमियो ताकेयाले आपूm भूकम्पीय देशको भएको हुनाले भोगेका अनुभवहरूको आधारमा जापानले नेपाललाई केन्द्रीय तथा स्थानीय तहमा भूकम्प पुनरुत्थानको क्षमता अभिवृद्धि गर्न दिनसक्ने अद्वितीय योगदानहरू माथि जोड दिनुभयो ।

गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले सरकार पुनरुत्थान र पुनःनिर्माणको काममा साथै नियमित विकास निर्माणका अभियानमा पनि प्रकोप जोखिम न्यूनीकरणका कार्यलाई मूलप्रवाहीकरण गर्न कटिबद्ध रहेको बताउनुभयो ।
जाइका नेपालका प्रमुख जुन साकुमाले भूकम्प पश्चात पुर्नउत्थान र पुर्ननिर्माणको विषय निकै महत्वपुर्ण रहेको उल्लेख गर्दै भविष्यमा आईपर्ने जोखिमलाई सहजताका साथ न्यूनिकरण गर्दै लैजानु नै सुदृढ समाज निर्माण प्रतिको हाम्रो दायित्व होे भन्नुभयो ।

नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले जापान र नेपालबिचको लामो मैत्रीपूर्ण सम्बन्धलाई मध्यनजर गर्दै यस्ता खालका विपदबाट बच्न र बचाउन जापान सरकारको साथ निरन्तर रहेको साथै अझ सुदृढ निर्माणमा नेपाललाई सहयोग पु¥याउन सधै तत्पर भएको बताउनुभयो ।

नेपालको पुनःनिर्माण तथा पुनरुत्थानलाई सहयोग पु¥याउनको लागि जापान सरकारले कुल ३० अर्ब रूपैयाँ बराबरको प्रतिवद्धता जनाएको छ । जाइकाको पुनरुत्थान सम्बन्धी सहायताहरू मध्ये आवास पुनर्निर्माण र विद्यालय पुनर्निर्माण हाल सञ्चालनमा रहेका दुई मुख्य परियोजना हुन् ।

परियोजनाअन्तर्गत करिब १० हजार व्यक्तिलाई भूकम्प प्रतिरोधी आवास निर्माणको लागि तालिम प्रदान गरिसकिएको छ । जाइकाको सहयोगको लागि लक्षित गरिएका ३०० विद्यालयहरू मध्ये परियोजनाको पहिलो चरणमा ८३ वटा विद्यालयहरू पुनःनिर्माण भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?