क्षेप्यास्त्र आक्रमण भैहाले कसरी सुरक्षित हुने ? जापान सरकारले दियो यस्तो सूचना

टोकियो । उत्तर कोरियाले आणविक वा क्षेप्यास्त्र परीक्षण गर्ने संकेत दिएपछि जापान सरकारले विभिन्न खाले सुरक्षा उपायमा जाेड दिन थालेकाे छ भने जापानी नागरिकहरू पनि सुरक्षित हुने उपायकाे खाेजिमा लागेका छन् ।


जापानको मन्त्रिपरिषद् सचिवालय नागरिक सुरक्षा पोर्टल वेबसाइटमा उत्तर कोरियाबाट आक्रमण भएमा कसरी बच्ने भनी सुझाइएको सूचना हेर्नेको संख्या ह्वात्तै बढेर २० लाख बढी भैसकेकाे छ । क्षेप्यास्त्र आक्रमण हुन लागेको सूचना दिनुका साथै भएमा के गर्ने भन्ने बारेमा वेबसाइटमा जानकारी राखिएकाे।

तर चेतावनी दिएको १० मिनेटभित्रै क्षेप्यास्त्रको असर भइहाल्ने भएकाले मानिसहरू सुरक्षित स्थानमा भाग्न सक्ने सम्भावना थोरै रहेको सरकारले स्वीकारेको छ ।

जापानमा जे–अलर्ट नामक प्रणाली छ र यसले हुन लागेको क्षेप्यास्त्र आक्रमणको जानकारी दिन्छ । स्याटेलाइट, टेलिफोन र साइबरस्पेसमार्फत खतराको सूचना दिइन्छ ।

त्यसपछि स्थानीय सरकारहरूले लाउडस्पीकर, केबल टिभी, एफएम रेडियो ब्रोडकास्ट र मोबाइल फोन अलर्टमार्फत जनतालाई सूचना दिनेछन् ।

चेतावनी जारी भएपछि सबभन्दा बलियो भवनतर्फ शान्तिपूर्वक जाने वा सम्भव भएसम्म अन्डरग्राउन्ड जाने सरकारले सल्लाह दिएको छ । घरमा रहेका परिवारले भुइँमा बस्ने, टेबुलमुनि लुक्ने र शीशाको झ्यालबाट टाढा बस्ने गर्नुपर्ने सल्लाह सरकारले दिएको छ ।

एजेन्सीकाे सहयाेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?