यस कारण जापान आउँदैछन् धुर्मुस सुन्तली, आउनुहोस् सबैले अभिनन्दन गरौं

हरि सापकोटा 

टोकियो । साँच्चै भगवानले मानवको रुप धारण गरेर धर्तीमा आउँछन् र असहायहरुको उद्दार गरेर फर्कन्छन् । अहिले महोत्तरीको बर्दिबासस्थित एकीकृत मुसहर बस्तीका सबैले यस्तै भन्ने गरेका छन् । उनीहरुले बर्षेंदेखि खोजिरहेको र पुजिरहेको साक्षात् भगवान् भेटेका छन्, अर्थात् धुर्मुस–सुन्तली ।

धुर्मुस–सुन्तलीलाई मुसहर बस्तीका हरेकले आफ्ना भगवान भन्ने गरेका छन् । देशमा प्रत्येक दश दश वर्षमा व्यवस्था परिवर्तनका ठूला ठूला आन्दोलन भए। हरेक आन्दलोलनहरु र राजनीतिक परिवर्तनका संघारमा तिनै दिनहिन र निमुखा गरिब जनतालाई भर्याङ बनाइयो, अनि राजनीतिक परिवर्तन पछि चटक्कै माया मारियो । हरेक दलहरुले चुनावमा ती निमुखाहरुलाई भोट बैंकका रुपमा प्रयोग गरे अनि निर्वाचन सकिएपछि अवस्था उस्तै ।

दशकौं देखि एउटा छानो सहितको घरको खोजिमा रहेका अत्यन्तै निम्म अवस्थाका सिमान्तकृत मुसहरहरुलाई राजनीतिक दलहरुले विभिन्न खाले आश्वासन नदेखाएका होइनन् । उनीहरुकै पुनस्थापना र स्तर विकासका लागि भन्दै करोडौं रकम खर्च भए, तर उनीहरुको घरसम्म पुगेन ।

दलहरुले चुनावी घोषणा पत्रहरुमा यस्ता गरिब जनताहरुलाई निकै राहत पुग्ने मिठा र लोभलाग्दा योजना ल्याए तर, कार्यान्वयन भने गरेनन् । यस्तोमा ती मुसहरहरुले देश वा भनौं राज्य भए नभएको पत्तो पाएका थिएनन् । राज्यले केवल नागरिकता दिएर पुग्छ ?
धुर्मुस–सुन्तलीले यति बेला अठोट लिए, जति बेला देशमा विनाशकारी महाभूकम्प गएको थियो । उनीहरुले भूकम्प पछिको पुननिर्माण र राहत वितरणका क्रममा विपन्नहरुलाई घर बनाइदिने योजना तयार पारे ।

सुरुमा उनीहरुलाई आलोचना पनि गर्न खोजियो । महत्वाकांक्षी भएको आरोप पनि नलागेको होइन । तर, उनीहरुले लिएको अठोट पुरा गरेरै छाडे । जस अन्तरगत उनीहरुले काभ्रेको पहरी, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको मुसहर एकीकृत बस्ती बनाएर समाज सेवाको नविनतम उदाहरणको पात्र बनेका छन् ।

जहाँ इच्छा, त्यहाँ उपाय भने झैं उनीहरुले एकीकृत बस्ती निर्माणको महाअभियान थाल्दा उनीहरुसँग सिमित रकम मात्रै थियो । तर, उदाहरणीय कामका लागि फराकिलो मन बनाएका यी जोडीलाई प्रवासी नेपालीहरुको ठुलै साथ रह्यो । १२ वैशाख ०७३ अर्थात् भूकम्प गएको ठ्याक्कै वर्षदिनमा उनीहरूले आफ्नो काम अगाडि बढाएका थिए । १२ कात्तिक ०७३ मा राष्ट्रपति भण्डारीले गिरानचौर एकिकृत बस्ती हस्तान्तरण गरेकी थिइन् । ३

५ रोपनीमा एउटा सामुदायिक भवनसहित ६६ वटा घर बने, जसमा बालबालिकाका तीनसहित सात वटा पार्क, तीन प्रतिक्षालय, सार्वजनिक बाल मैत्री धारा नौ र सार्वजनिक शौचालय पाँच वटा बनेका छन् । र, बस्ती बाल तथा अपांग मैत्री छ ।
गिरानचौर बस्ती निर्माणमा पाँच करोड १५ लाख रुपैयाँ खर्च गरेका थिए । गिरानचौर बस्ती हस्तान्तरणकै दिन उनीहरुले अर्को घोषणा गरे, मुसहर बस्ती निर्माण ।

कसैले पनि नसोचेको यो अभियान उनीहरुले तत्कालै थाले र पुर्णता दिए पनि । धुर्मुस सुन्तली फाउन्डेसनले ‘राष्ट्र निर्माण तपाईं हाम्रो अभियानः मानवता र सद्भावका लागि सहकार्य’ भन्ने मूल नाराका साथ महोत्तरीको बर्दिबास २ स्थित एकीकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गरि हस्तान्तरण पनि गरिसकेको छ । नयाँ वर्षको उपहार स्वरुप उनीहरुले विपन्न मुसहरहरुको मुहारमा सधैं सधैंका लागि खुसी भरिदिएका छन् ।

पौष २५ मा शिलान्यास गरी १ वैशाख ०७४ मा बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारले करोडौं रकम खर्च गरेर पनि जनतालाई चित्त बुझ्दो काम गर्न नसकिरहेका बेला उनै धुर्मुस सुन्तलीबाट पाठ सिक्न आम नागरिकले भनिरहेका छन् ।

बस्तीमा ५० वटा मुसहरका साथै सुनार, मगर र भुजेलका अन्य तीन गरी ५३ वटा पाँचकोठे भवन बनाइएको छ । छोटो समयमा यतिका घर बन्नु चानचुने कुरा हैन । राज्यले आफ्नो पुरा संयन्त्र खटाउँदा त घोषित मध्ये एउटा पनि एकीकृत बस्ती बनाउन नसकेका बेला धुर्मुस सुन्तलीले चुनौती समेत दिएका छन् ।

बस्तीमा सामुदायिक भवन, भ्यु टावर, मुुसहरले पूजा गर्ने दिनाभद्रीको मन्दिर, बाल उद्यान र प्रतीक्षालय समेत छ । बस्ती भित्रको बाटो पक्की छ । हरेकका घरमा खानेपानीको धारा पनि छ । यसरी तीन अलग अलग स्थानका विपन्नहरुका भगवान बनेका धुर्मुस सुन्तली जापानमा आउँदै छन् । नेपालमा एकीकृत वस्ती निर्माण गरेर उदाहरणीय पात्रका रुपमा उदाएका युवा कलाकारद्धयको सम्मानमा सनराइज कर्पोरेशन लिमिटेडले टोकियोमा धुर्मुस सुन्तली साँझ २०१७ को आयोजना गर्दै छ ।

प्रवासी नेपालीहरुले दिएको साथ, सहयोग र सम्मान ग्रहण गर्नका लागि अप्रिल ३० मा धुर्मुस सुन्तली जापान आउने भएका हुन् । मुसहर बस्तीका भगवान बनेका कलाकारद्धयको प्रस्तुती र उनीहरुको सम्मान र आगामी अभियानका लागि धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ कर्पोरेशनले आयोजना गरेको कार्यक्रममा जापानमा रहेका हरेक नेपालीले सहभागिता जनाउनै पर्छ । अनि भन्न सक्नु पर्छ, धुर्मुस सुन्तली अघि बढ, हामी तिम्रो साथमा छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?