उत्तर कोरियाको डरलाग्दो धम्की, अब जापान सागरमा हुनेछ हप्तामा एउटा मिसाइल प्रहार

टोकियो । अमेरिकी उपराष्ट्रपति माइक पेन्सी दश दिने एसिया प्यासिफीक क्षेत्रको भ्रमणमा छन् । उनी जापान जानै लाग्दा उत्तर कोरियाबाट डरलाग्दो चेतावनी आएको छ ।
उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तराता दिने चेतावनी दिएको छ । उत्तर कोरियाका एक उच्च अधिकारीले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई निरन्तरता दिने बताएको बिबिसीले जनाएको छ ।

अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त रुपमा उत्तरलाई यस्तो गतिविधि रोक्न चेतावनी दिइरहेका बेला उत्तरले यस्तो जवाफ दिएको हो । उत्तर कोरियाले पछिल्लो समय निरन्तर परमाणु तथा मिसाइल परीक्षण गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै किसिमको परमाणु कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर उसले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङरयोलले आफ्नो देशले साप्ताहिक, मासिक तथा वार्षिक रुपमा मिसाइल परीक्षणलाई निरन्तरता दिने बताएको समाचार बिबिसीले प्रकाशन गरेको छ ।

उत्तर कोरियाले यस अघि द सि अफ जापानमा पाँच वटा मिसाइल परिक्षण गरिसकेको छ । जसका कारण कोरिया प्रायद्धिपमा तनाव बढेको छ ।

दक्षिण कोरियामा रहँदा अमेरिकी उपराष्ट्रपति माइक पेन्सीले उत्तर कोरियालाई आफूहरुको परीक्षण नगर्न भन्दै चेतावनी दिएका थिए ।

उत्तर कोरियाको रणनीतिक सहनशिलताको समय सकिएको भन्दै उपविदेश मन्त्री हान साङ रयोलले अन्तर्राष्ट्रिय समुदायको असन्तुष्टिका बाबजुद परमाणु परीक्षण नरोक्ने बताएका थिए ।

चीनले पनि जुनसुकै बेला युद्ध हुनसक्ने भन्दै जापानलाई संयमीत हुन आग्रह गरेको थियो । चीनले जापानले अमेरिकालाई उचालेको आरोप लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?