जापानी नागरिकको उदार दिल, पाल्लाको दुर्गम क्षेत्रका सर्वसाधारणले पाए घरैमा आँखाको उपचार

काठमाडौं । जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) को आर्थिक सहयोगमा पाल्पाको दुर्गम र विकट क्षेत्र निस्दी गाउँपालिका–२ सहलकोटमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ।

शिविरबाट १२५ जना बिरामीले सेवा लिएका छन्। गाउँमै आँखा उपचार गराउनाका साथै औषधि उपचार निःशुल्क पाएपछि यहाँका स्थानीयवासी खुसी भएका छन्।

पाल्पाको ग्रामीण भेगमा रहेर लामो समयदेखि जापानी नागरिक ओकेबाजेले सामाजिक क्षेत्रमा काम गर्दै आएका छन्।

उनले दुर्गम र विकट क्षेत्रका गरिब तथा विपन्न नागरिक कोही पनि आर्थिक अभावमा उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले दुर्गममा आँखा शिविर सञ्चालनका लागि आर्थिक सहयोग गरेको बताए।

शिविरमा जनविकास तथा परिचालन केन्द्र सहलकोट पाल्पाको आयोजना, कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरको प्राविधिक सहयोग रहेको थियो ।

सहयोगदाता ओकेबाजेकाले शिविरमा सहभागी बिरामीलाई निःशुल्क औषधि वितरण गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका १५ जना बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरेका छन् ।

१२ जना बिरामीमा मोतियाबिन्दु फेला परेको छ । आज कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुर किसानबारीमा हुने शिविरमा निःशुल्क शल्यक्रिया गरिने प्राविधिक सुन्दर रानाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?