पोखरा पुगेका जापानका पूर्वप्रधानमन्त्री हातोयामाले भने–नेपालमा सम्भावना छ, राजनीतिक प्रतिवद्वता चाहियो

पोखरा । जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामाले नेपालमा लगानी मैत्री वातावरण बनाउनु आवश्यक रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाल पर्याप्त सम्भावनायुक्त देश भएकाले यहाँको विकासका लागि लगानी मैत्री वातावरण तयार गर्नुपर्ने बताए ।

उद्योग कलकारखानाको विकास नहुँदा नेपालको युवा जनशक्ति विदेशिनु परेको बताउँदै पूर्वप्रधानमन्त्री हातोयामाको भनाइ थियो । उनले युवा जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्ने किसिमले साना तथा मझौला उद्योगको विकास गरिनु आवश्यक भएको बताए ।

नेपालमा जस्तै जापानले पनि सन् २०११ मा ठूलो भूकम्पको सामना गर्नुपरेको र भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अघि बढाउनु आवश्यक रहेको उनको भनाइ थियो । पोखरा घुम्नलायक सुन्दर सहर रहेको चर्चा गर्दै उनले यहाँको पर्यटकीय विकास वातावरण मैत्री बन्नुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय चिनारीका लागि पोखरामा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वप्रधानमन्त्री हातोयामाले बताए । जापान र नेपालबीच प्रत्यक्ष हवाई सम्पर्क हुनु आवश्यक रहेकोमा जोड दिँदै उनले सिधा हवाई सम्पर्कसँगै नेपालमा जापानी पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?