खानेपानी आपुर्ति सुधार परियोजनाका लागि जापानद्वारा ४ अर्ब ५३ करोड ९० लाख अनुदान सहयाेग

जापान । जापान सरकार पोखरामा खानेपानी आपुर्ति सुधार परियोजनाको कार्यान्वयनका लागि रु ४ अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएकाे छ।

बुधबार अर्थमन्त्रालयद्धारा आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानका राजदुत माशासी ओगावा तथा नेपालका अर्थ सचिव डा.शान्तराज सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सो अवसरमा अर्थ सचिव सुवेदीले जापान नेपालको मुख्य विकास साझेदार भएकाे बताउदै  खानेपानी जस्ता जनतासँग प्रत्यक्ष सम्बन्धित विषयमा आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

उक्त परियोजना कार्यान्वयनका लागि जापानले उपलब्ध गराउने अनुदान सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्यालले सम्झौता गरेका छन् ।

सन् २०२२ मा सम्पन्न हुने उक्त परियोजनापछि प्रतिदिन  ४० करोड २० लाख लिटर पानी वितरण हुनेछ ।साे परियोजनाकाे समापन पश्चात पाेखराका करिब चार लाख पाँच हजार नागरिक लाभान्वित हुने विश्वास लिइएकाे छ ।

खानेपानी संस्थानले कार्यान्वयन गर्ने उक्त आयोजनाअन्तर्गत पानी प्रशोधन केन्द्र, खानेपानी वितरण प्रणालीको सुधार, उपभोक्ताले प्रयोग गर्ने मिटरलगायत काम हुनेछ ।

नेपालका लागि जापानी राजदूत ओगावाले परियोजना कार्यान्वन भएपछि पोखराका जनता सहज रुपमा स्वच्छ पानी पिउन पाउने उल्लेख गर्दै पोखराको जनजीवनमा सुधार ल्याउन मद्दत पुग्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?