जापानको नागोयामा वृहत सांगीतिक कार्यक्रम आयोजना हुँदै

|

जापान । जापानको नागोयामा बसोबास गरिरहेका नेपालीहरुको संयुक्त आयोजनामा जापानमा वृहत सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।

अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा नागोयावासीहरुको सामाजिक समूह नेपाली समाज नागोयाले सामाजिक अभियन्ता महाविर पुनको अभियानलाई सघाउन जनवरी १ तारिखमा सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।

सांगीतिक कार्यक्रममा सहभागी हुन नेपालबाट विभिन्न विधाका चर्चित कलाकारहरु सुगम पोख्रेल, नविन के भट्टराई, लोक गायिका मालती खरेल लगायत आउने भएका छन् ।
साथै कार्यक्रममा नायिका नम्रता सापकोटा,जापानमै बसेर सांगीतिक क्षेत्रलाई निरन्तरता दिई रहेका कलाकारहरु श्याम शितल, कर्म दोङ तामाङ, रामशरण राज, मनोज के सी, राजिव लामा र समिक्षा थापाको विशेष प्रस्तुति रहने पनि आयोजक समितिले जनाएको छ ।
नेपाली समाज नागोया आयोजक रहेको उक्त कार्यक्रमको सह आयोजकमा नेपाली समाज तोयोकावा र नागोया ब्रदर्स रहेको छ भने कार्यक्रमलाई सहयोग गर्ने संघ संथाहरुमा गल्कोट समाज जापान नागोया, धादिंग समाज नागोया, सगरमाथा महिला समूह, चितवन समाज जापान, मगर समाज जापान, शेर्पा समाज जापान, आदिबासी जनजाती महासंघ जापान, स्याङ्गजा समाज जापान, म्याग्दी मोना जापान र एन आर एन नागोया रहेका छन् ।

नागोया साकायको आपा होटलमा दिउसो २ बजे बाट सुरु हुने उक्त कार्यक्रम राति १० बजे सम्म चल्ने बताईएको छ ।
त्यस्तै सांगीतिक कार्यक्रममा ६ जना सर्वसाधारणको लागि जापानी येन ३००० प्रवेश शुल्क निर्धारण गरिएको र विद्यार्थीहरुको लागि विशेष छुटको व्यवस्था गरिएको नागोया ब्रदरहुडका संयोजक नवराज थापा मगरले जानकारी दिएका छन् ।