धुर्मुस सुन्तली हाई हाई, अरु सबै बाई बाई

लेखक: लक्ष्मण कार्की

२०७२ बैशाख १२ गते शनिवार अपरान्ह गएको विनाशकारी भूकम्पले धेरै नेपालीको घर मात्रै भत्काएन कतिलाई अभिभावक बिहिन त कतिलाई परिवार बिहिन पनि बनायो ।

अझै बाँच्नेहरुको त्यही भित्र खाने गाँस पनि पुर्यो अनि न गाँस न बास बनाएको कुरा हामी कोहि पनि नेपालीबाट लुकेको कुरा होईन ।

भूकम्प जाने बित्तिकै भारत लगायत विदेशी मित्र राष्ट्रहरुले पनि तत्काल उद्दार कार्यमा सहयोग गर्ने देखि आपतकालिन सामाग्री, खाद्यान्न आदि सहयोग गरेर मित्र राष्ट्रको भूमिका निर्वाह गरे ।

नेपाल सरकारले पनि तत्कालीन अवस्थामा आवश्यक सबै संयन्त्रको परिचालन गर्यो । सरकारले आफ्ना राष्ट्रसेवक कर्मचारीहरुलाई फिल्डमै खटायो ।

विभिन्न संघ संस्थाले पनि सहयोग गरे। यी सबै भूकम्प पीडितका लागि अलि ठूलो क्षेत्रबाट गरिएको पहल थियो । तर त्यसै समय आफ्नो सांगीतिक यात्रामा अमेरिका पुगेका कलाकार द्धय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले अमेरिकाको कार्यक्रम छोडेर तत्काल नेपाल फर्कने निर्णय गरेर भूकम्प पीडित नेपालीलाई सहयोग गर्न शुरुवात गरेको कार्य आज मुर्त भई उदाहरणीय भएको छ भने अर्को तर्फ नेपालमा साँच्चै जनताको लागि केहि गर्न चाहने हो भने राजनैतिक खोल नओढे पनि हुदो रहेछ भन्ने प्रमाणित गरेको छ ।

अझै अगाडि भन्नु पर्दा यसले जनताका लागि भनेर राजनीति गर्ने देखि सत्ताका लागि मरिहत्ते गर्ने सबैलाई अबस्य लज्जित गराएको छ । तर यो समयमा कुनै पनि दल बिशेषलाई दोषारोपण गर्नु अन्याय नै हुने छ । ठूला तीन दलका शिर्ष नेताले सत्ता सम्हाली सकेका छन् । यस अवधि भित्र जुन पार्टीको नेतृत्वमा सरकार संचालन भए पनि भूकम्प पीडितले महशुस गर्ने गरि राहत दिन कोहि पनि सफल भएनन् भन्ने कुरा स्पष्ट छ ।

यदि त्यसो होईन भने धुर्मुस सुन्तलीले जत्ति कै ठोस कार्य कस्ले गर्यो सायद हामीले देखि सक्थ्यौ होला । नेपालमा भूकम्प जाँदा धुर्मुस सुन्तली अमेरिकामा थिए । यो विनाशसंगै अमेरिकाबाट फर्केर पीडितका लागि उद्दारमा खटेका धुर्मुस सुन्तलीले पहिलो चरणमा काभ्रेको डाँडा गाउँका अल्पसंख्यक पहरी जातिको लागि तिन महिना भित्रै बिस घर निर्माण गरी हस्तान्तरण गरेका थिए । जहाँ बायो ग्यास समेत छ । धुर्मुस सुन्तलीको यस कार्यले सर्वसाधारणको ध्यान खिच्ने मात्र हैन स्याबासी नै पाएका थिए ।

यसबाट प्रेरणा पाएका कलाकार जोडीले त्यसपछि दोस्रो चरणमा सिन्धुपलान्चोक जिल्लाको गिरानचौरमा नमुना बस्ति निर्माण शुरु गरेका थिए र आज त्यो पनि सम्पन्न गरि ६५ वटा घर भव्य कार्यक्रम सहित पीडितलाई हस्तान्तरण गरे त्यहा पुगेर ताली पिट्ने नेताहरुलाई लाज लाग्यो लागेन त्यो छुट्टै कुरा हो ।

यो लेख्दै गर्दा मेरो मनमा अर्को कुराको सम्झना भयो । हामी विदेशमा भएका मान्छेलाई देशका बारेमा लेख्दा विभिन्न आरोप पनि लाग्छन् । स्मरण रहोस् भूकम्प जाने बित्तिकै हाम्रा आफन्तका लागि जापानमा रहेका हामी नेपालीले ब्यक्तिगत तथा संस्थागत रुपमा सहयोग अभियान नै संचालन गर्यौं ।

 जापानबाट पनि धेरै सहयोग भित्रिएको थियो । यो गिरानचौर एकीकृत नमुना बस्तीका लागि पनि जापानका विभिन्न संघ संस्थाले संस्थागत रुपमा र ब्यक्तिगत रुपमा पनि कैयौं सहयोग हस्तान्तरण भएको थियो ।

सायद आज आफूले गरेको सहयोगको सहि सदुपयोग भएकोमा सबै गौरवान्वित हुनु भएको छ होला । सायद सरकारी तवरबाट पनि यस्ता कार्य भए अवश्य देश विदेशबाट सहयोग हुने थियो ।

यसो भन्दैमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ति तथा पर्यटन प्रबद्र्धन परियोजना अन्तर्गत मेलम्ची नगरपालिका भवन विभागको सहयोग एवं देश विदेशमा बस्ने कैयौ देशप्रेमीहरुको सहयोगको मूल्याँकन नगर्दा अन्याय अवश्य हुन्छ । तर धुर्मुस सुन्तलीको आँटका अगाडी ति नगन्य जस्तै हुन् ।

यसरी हेर्दा दुई जनाको ईच्छा शक्तिले गर्दा आज ६५ पिडीत घरपरिवारले शान्तिको सास फेरेका छन् र राम्रो ओत पाएका छन् । नेपाल लगायत विश्वभर छरिएर रहेका सबै नेपालीका लागि धुर्मुस सुन्तली हाई हाई र पीडितका लागि भगवान सावित भएका छन् भने देश र जनताका लागि भन्दै राजनीति गर्ने अनि जनताकै करबाट तलब खानेहरुले राहतका चामल बेचेको, जस्तापाता लुकाएको, टेण्ट आफन्तका लागि छुट्याएको, पीडितका नाममा आएका चामल समयमा वितरण नगरेर खाल्डो खनेर पुरेको घटनाले सरकारी प्रवृतिको निन्दा गरेका छन् । त्यो भन्दा दु:खद के हुन सक्छ ।

तर पनि गल्ति सुधार्दै धुर्मुस सुन्तलीको यस कार्यबाट सिकेर गर्न सक्ने ठाउँ अझै छ । आजका मिति सम्म पनि कैयौ भूकम्प पीडितहरु छानो र मानोको अभावमा अनिदो रात कटाउन बाध्य छन् । गर्मीमा शितल पाएनन्, जाडोमा न्यानो । धुर्मुस सुन्तली दुई जनाको अभियानबाट ६५ घर भूकम्प पीडित आज आरामसँग घरमा बस्न पाउने भएका छन् ।

राज्यसत्ता सम्हालेर बसेका राजनीतिक दलहरुले पनि गर्न चाहने हो भने असम्भव अबस्य छैन । यो पीडितको लागि राहत मात्र नभएर नयाँ नेपाल निर्माणको शुरुवात पनि हुने छ । धुर्मुस सुन्तलीकै क्लिन सिटी, ग्रिन सिटीको अबधारणा सहित अपांगमैत्री, बालमैत्री र बातावरण मैत्री एवं भूकम्प प्रतिरोधी घर निर्माण गर्दै जाने हो भने भूकम्प पीडितको उद्वार गर्न र नँया नेपालको निर्माण कार्य गर्ने सपना अवश्य पुरा हुने छ ।

तर यसरी नै धुर्मुस सुन्तली राष्ट्रनिर्माणमा लाग्ने र सरकारी कार्य प्रभावकारी नहुने हो भने धुर्मुस सुन्तली हाई हाई र अरु सबै बाईबाई भन्ने दिन आउन बेर हुने छैन ।

लेखक हाल जापानमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?