आशिर्वाद दिने मान्छे बिनाको नरमाईलो दशैं

अहिलेका केटाकेटीलाई चोखो-मिठो खान, नयाँ कपड़ा फेर्न खासै चाडपर्व नै कुरीरहनु पर्ने बाध्यता छैन । टिका र जमरा लगाउने बाहेक हुने खाने परिवारका लागि सबै दशै नै हुन्छ ।

हामी केटाकेटी हुँदा अलि राम्रै कपड़ा फेर्नलाई विशेष चाडपर्व कहिले आउला भनेर कुरेको हिजै जस्तो लाग्छ । त्यतिवेला नयाँ कपडा लगाउनेका लागि चार्डपर्व नै कुर्नु पर्दथ्यो । त्यसमा पनि दशै बिशेष नै हुन्थ्यो ।

दशैमा नयाँ कपडा लगाएर टिका लगाउन हिड्नुको मज्जा नै बेग्लै थियो । मान्यजनका हातबाट टिका ग्रहण गर्दै आशीर्वाद थाप्दाको आनन्द नै बेग्लै हुन्थ्यो ।

त्यस्तै मामा घर जाने भन्दा मन अझै फुरुङले हुने गर्दथ्यो । मामा माइजुले भान्जाले सम्बोधन गर्दै दिएको पैसाको बयान गरी साध्य नै छैन ।

 

अहिले महिना भरिको कमाईले त्यो पैसा पाउँदा जस्तो खुसी कहाँ पाईन्छ र ? यी अविस्मरणीय क्षणहरु जब चाडपर्व आउछ तब मानसपटलमा घच्घच्चाई रहन्छ । अध्ययनका क्रममा घर छोडेर बाहिर जाँदा दशैँ-तिहार पारिवारिक भेटघाट गर्ने अवसर हुन्थ्यो ।

त्यसमा पनि लामो समय काठमाडौ तिरको बसाई भएर होला दशैमा घरजाने भनेर काठमाडौका पसलमा पुगेर राम्रा राम्रा लुगा छानेको, मनले खाएका कपड़ा किन्ने पैसा नपुगेर मन अमिलो पार्दै अलि कमसल किनेर चित्त बुझाउन परेको हिजो जस्तो लाग्छ ।

 

अभाव भएर के भयो र दशै भनेपछि सबैकुरा बिर्सिएर रमाउदै घर पुगिन्थ्यो । कुनै कुनै बिगत पनि बर्तमान भएर मनमा बसीरहन्छन त्यो एउटा संयोग पनि होला । हामी गाउँका मान्छे दशैको समयमा खुद्रा पैसा पाउन अलि गार्हो जस्तै हुन्थ्यो ।

 

टिका लगाउँदा आफन्तलाई ठुलो पैसा दिन हाम्रो मध्यम आर्थिक अवस्थाले नसकिने थियो । बाबाले पैसा साटेर ल्याउनु कान्छा भनि पठाएका पैसा बोकेर थापाथली बैंकमा गई नयाँ नोट साटेर लगेको पनि हिजो अस्ति जस्तो लाग्छ ।

 

दशैको मौकामा गाँउमा खसी–बोका काटेर बिला लगाएको,गाँउभरीका दाजुभाई जम्मा भएर हिलो,अप्ठ्यारो बाटो बनाएको,बाबियो उठाएर पिंङ बाटेको संगै हुदाँका सबै साथिहरुलाई याद आउछ नै होला ।

 

त्यसैमाथि रातो माटोले पोतेर घर चिरीच्याट्ट पारेको, ब्याट्रीको कालो रंगले झ्याल रंगाएको सम्झनाले दुख र सुख दुवैको सम्झना आज परदेशमा पनि गराएको छ । दशैको दिन बन्दुक पट्काएको आवाज सुनेर बाबाले लौ कान्छा टिकाको साईत भएछ ।

पिपलको रुख,चौतारी पोखरी,अनि घरको मुल ढोकामा टिका लगाई भनेको आज सम्म पनि याद छ । गाईको गोबर टासेर टिका लगाई त्यहीमाथी जमरा लगाएको पनि सम्झना आईरहन्छ ।

घरको मुलढोकामा टिका जमरा लगाएर पिपलको रुखमा गए या रुखमा टिका जमरा चढाएर घरको ढोकामा अहिले ठ्याक्कै याद भएन ।

 

दशैको टिका ग्रहण गर्ने पनि नियम हुदो रहेछ । पहिला ठुलोबाट टिका लगाउदै सानो उमेर समूहमा जानुपर्ने रहेछ । हाम्रो परिवारमा पनि ठुलो बाट क्रमश टिका लगाउन शुरु हुन्थ्यो ।

घर वरिपरिका दाजुभाई दिदीबहिनीहरु पनि हाम्रो बुवाआमाको हातको टिका ग्रहण गर्न आउनु हुन्थ्यो। अहिले त प्राय सबैलाई दक्षिणा दिने चलन छ तर त्यतिबेला केटा मान्छेलाई चक्लेट केरा स्याउमा उम्काईन्थ्यो । केटी मान्छेलाई मात्र दक्षिणा दिने चलन थियो । गाउघरमा नया नोट दक्षिणामा दिदा दशको नोट दिदा पनि बीसको नोट दिए जस्तो शान गर्नु हुन्थ्यो ।

 

केटाकेटीले नयाँ नोट भन्दै पट्याकपट्याक पट्काउदै आफैले साटेको नोट गन्दा पनि आफैलाई के के न गरे जस्तो भएको भर्खरै जस्तो लाग्छ । तर आज ती मिठा पल सम्झना मात्रै भएका छन । समय कति छिट्टै गयो । परिस्थितिले कति खुसी खोस्यो कतै थपिदिए होला । दशै फर्कियो तर हिजोको मेरो परिस्थिति फर्केन ।

 

दशैमा लगाउने एकजोर मन परेको कपड़ा किन्नलाई गोजी हेर्न पर्ने अवस्था थियो । आज म नयाँ कपडा फेरेर दशै मनाउन सक्ने अबस्थामा छु  । आखिर त्यसले खुसी दिने भए त म आज खुसी हुनु पर्ने हो । बाबाले पठाएका पैसा लगेर थापाथलि बैकमा पुगेर दक्षिणाको लागि नया नोट साटेर लैजाने मान्छे आज आफ्नै कमाई साटेर लैजान सक्ने अबस्थामा छु  ।

यदि पैसाले र नयाँ नोटले खुसी दिने भए त म हर्षित नै हुनु पर्ने हो । तर मनमा हर्ष, उमंग र खुसीको महशुस भएको छैन। रातो माटोले पोतेको पिढीमा नयाँ गुन्द्री त्यसै माथि कम्मल ओच्छ्याएको ठाउँ अनि थालको एउटा छेउमा रातो टिका अर्को छेउमा जमरा र मैले साटेर लगेका नया नोट थालमा फिजाएर दुईहातले मेरो शिरमाथि टिका छर्केर निधारमा टिका लगाईदिदै आशीर्वाद दिने मेरा बाबा गुमाएको पिडालाई बिर्साएकी हाम्री ममतामयी आमालाई पनि हामीबाट खोसेर दैवले अन्याय गरेको छ ।

आशीर्वाद दिने मान्छे बिना आखिर दशै केही पनि होईन रहेछ । आफ्ना बा-आमा गुमाउने परिवारका सन्तानहरुको लागि दशैं निरस र उदासमय हुने रहेछ । त्यस्तै निरस र उदास दशैँ यस पटक मेरो परिवारमा पनि पर्न गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?