परदेशी माटोमा तीजको सम्झना गर्दा

Gita-khatri-karki

गीता  कार्की खत्री

नेपालीहरुको चाडपर्व नजिकीदै गर्दा विदेशमा बसोबास गर्ने नेपालीहरुमा पनि विषेश रौनकता देखा पर्ने पर्दछ । त्यसमा पनि महिलाहरुको महान चाड हरितालिका तिज नजिकीदै गर्दा विदेशमा बसोबास गर्ने महिला दिदि बहिनी हरुमा बेग्लै खालको् चहल पहल देख्न सकिन्छ ।

साथीसंगी भेटघाट गर्ने तथा त्यसलाई यादगार बनाउनको लागी सामाजिक संजालमा भिडियो क्लिप तथा फोटो राख्नु सामान्य भैसकेको छ । फेसबुकमा राखिएका भिडियो र प्रचारप्रसारका आधारमा नेपालीहरुका चाडवाडहरु नजिकिदै गर्दा विदेशमा बस्ने महिला दिदी-बहिनीहरुका भेटघाट पनि बढ्दै गएको हुन्छ ।
तर तिनै फोटा तथा भिडियो क्लिपका आधारमा हामी महिला दिदीबहिनीहरु माथि बिभिन्न अड्कल बाजी गरिन्छ ।फलानाकी फलानी त यस्ती उस्ती भन्ने कुरा सुन्नमा आउछन्। कहिलेकाही लाग्छ सायद म पनि त यस्तो चर्चाको बिषय बनेकी हुन् सक्छु। म जस्ता दिदीबहिनी पनि बन्न सक्छन् भनेर। मान्छेहरुका आ-आफ्नै समस्या हुन्छन र ति समस्या समाधान गर्ने उपाए पनि आआफ्नै तरिका हुन्छन।

समाजमा देखिने बिभिन्न सोच अनुसारका मान्छे अनुसार आफैलाई परिवर्तन गर्नु पनि सम्भव छैन। स्वदेशमै बस्नेहरुका पनि चर्चा परिचर्चा नहुने होईनन्। तैपनि विदेश गएका चेलीवेटीहरुको अलि बढीनै चर्चा भएको महशुस हुन्छ। विदेशमा सुखसयल गर्दछु भनेर मातृभुमिबाटै झोलाभरि पैसा बोकेर प्रदेश हानिने हामी सायद कमै छौ होला।अपवाद बाहेक प्राय सबै आर्थिक सम्पन्नताको सपना देखेर विदेश पसेका हुन्छौ ।

त्यहि सुन्दर कल्पनाको आसामा बुढेशकालले छोएका सासु-ससुरा, आमाबाबालाई घरमा एक्लै छोडेर त कतिपयले दुधेबालकलाई होस्टेलको जिम्मा लगाएर विदेश भासिनु पर्ने बाध्यता छ।

यसरी परदेश हानिएर मानसिक तथा भौतिक समस्या संग लड्दै जनतन दुईचार पैसा जम्मा गर्नु पर्ने यथार्थता एकातिर छ भने अर्कों तर्फ लवाई, खवाई, हिडाई, बोलाईमा नयाँ ठाउँमा लामो समय बस्दा केही न केही परिवर्तन हुनु स्वभाविक हो।

त्यस्ता साना-साना विषय बस्तुले समेत चर्चाको लागि स्थान पाउनु अर्कों दुखको कुरा हो। समय र स्थान अनुसार परिवर्तन हुन जरुरी पनि छ।त्यसो गर्नु आफ्नै रितिरिवाज, आफ्नोपन, आफन्त बिर्सनु अर्थात बिग्रनु हुँदै होईन ।

दिनभरि काम गरेर बचेको समयमा साथीसंगीसंग भेटघाट गरी रमाईलो गरेको फ़ोटो फ़ेसबुक तथा अन्य सामाजिक संजालमा अपलोड गर्दा देखिएका अनुमानित खुसी भन्दा पारिवारिक विछोडको पिडा ठुलो हुन्छ ।

आफ्नै कोखमा हुर्काएर जन्म दिएकी आमा, आफ्नो हातको सहाराले बामे सर्न सिकाएका बाबु,दाजुभाई दिदीबहिनी ईष्टमित्रको सम्झनाले परदेशको माटोमा आउने अत्यासको पिडा सायद सामाजिक संजालमा देखिएका फोटोमा देखाउन मिल्दैन ।

जब जब चाडबाडहरु नजिकिदै जान्छन् त्यतिनै घर परिवार, बालबच्चा, संगीसाथीको याद आउँछ । आफ्नो जन्मघर साथीसंगि संग विताएको बालापनको सम्झना रमाईलोको याद बनेर आउँछ तर कामको व्यस्तताबाट मिलेको सानो समयमा तिनै बिगत सम्झेर, छोराछोरी, बाबुआमा सम्झेर रोएर मात्रै बस्न पनि सकिदैन र बस्नु कति सम्म राम्रो कुरा हो त्यों सबैको आआफ्नै सोचाईमा फरक होला।

दिदीबहिनीहरु भेट भएर भलाकुसारी गर्दै रमाउनुको अर्थ चिचिला बालबच्चा एक अम्खोरा पानी सारेर खान नसक्ने बा, आमा, सासु-ससुरा बिर्सनु पटक्कै होईन बरु कामको थकान र उनीहरुको सम्झनाले थकित मनलाई पुन शक्ति प्रदान गर्ने अवसर दिलाउनु  हो ।

(लेखिका हाल जापानमा कार्यरत हुनुहुन्छ )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?