जापानमा नेपाली विद्यार्थी, दलालको चलखेल र सुन्दर सपनाहरु

suraj-430x316
सुरज खड्का

नेपालमा रहँदा पुराना रिटायर्ड परदेशीको मुखबाट विदेशका बारेमा धेरै कुराहरु सुन्ने गरेको थिए । विदेशमा नेपालमा भन्दा बढि नेपालीहरु  बिचमा सहयोगी भावना, सद्भाव र एकता हुन्छ भनेर एक पटक विदेश गईसकेका अग्रजहरुले भन्ने गर्थे ।

अझ भन्नेले त यहाँ सम्म पनि भन्थे कि एउटा नेपाली संग भेट भयो भने आफ्नै परिवारका सदस्य भेटे जस्तो खुसि हुन्छ । अब जापानकै सन्दर्भमा भन्नपर्दा अहिलेको तुलनामा पहिले नेपालीको संख्या निकै कम थियो। सायद त्यहि भएरपनि एकअर्का लाई देख्दा भेट्दा आत्मियता जाग्थ्यो।

तर हिजो आज, टोकियोका ब्यस्त सडकहरुमा मात्र नभई होक्काईदो देखि ओकिनावाका गाउँ  बस्ति सम्म हरेक गल्लि, मोड, सुपर-मार्केट, किनमेल गर्ने ठाउ, पार्क तथा अन्य सबै सार्वजनिक स्थान एक न एक जना नेपालीसगं भेट भईहाल्छ।

यसो भन्दै गर्दा नेपालीको संख्या बढि भएर नेपाली देख्दापनि आफ्नोपनको महसुस हुन्न भन्न खोजिएको हैन ।

आज आफू एउटा नेपाली भएर पनि अर्को नेपालीलाई आफ्नो नठान्ने राक्षसी  प्रबृतिका मान्छेहरुका बारेमा केहि भन्न बाध्य बनाएको छ ।

पछिल्लो समय सामाजिक सन्जाल प्रयोगकर्ताहरुको संख्या तिव्रता साथ बढेसंगै सूचना, समाचार र सन्देश आदनप्रदान गर्ने सबै भन्दा सहज र सरल माध्यम फेसबुक बन्दै आएको कुरा सर्बबिदित नै छ ।

हिजो आज फेसबुक स्क्रोल गर्दै गर्दा जापानमा हुने धेरै साथिहरु दुखले भरिएका स्ट्याटसहरु लेख्नुहुन्छ।कुनै सिनियर(सेन्पाई)ले यति पैसा खाएर भाग्यो, कसैले साथिले यति लिएर सम्पर्क बिहिन भयो आदि ईत्यादि स्ट्याटसहरु लेखिएका हुन्थे ।

यहाँ सम्म कि भर्खरै नेपालबाट आएका १५/१६ जना भाईबहिनिहरुलाई उस्काएर मोबाईल फोन निकाल्ने केशमा सम्म लाखौको घोटाला गरेका नेपालीहरुको बारेमा पढ्न पाईयो ।

सुनेर र पढेर साह्रै दु:ख लाग्यो। मैले जापानमा ति रिटायर्ड परदेशिहरुले भनेजस्तो नेपाली र नेपालीपन कतै पनि पाईन ।

दुईचार पैसाका लागि संसारभर ईमान्दारीताको पगरि भिरेको नेपालीले आफ्नो ईमान्दारितालाई यति सस्तोमा बेच्छ ?

के भाईचारा, बन्धूत्व, राष्ट्रियता भन्दा पनि पैसो ठुलो हो ?

पैसा दैनिक जिवनका लागि अपरिहार्य बस्तु हो भन्ने तथ्यलाई नकार्न सकिदैन ।

तर यदि तपाई ४ घण्टामात्रै नंग्रा खियाउदा आफ्ना आवश्यकता परिपूर्ति गर्नसक्ने ठाउमा हुनुहुन्छ भने किन बेईमानिको बाटो रोजेर धनि बन्न खोज्नु हुन्छ ?

जापानमा पसिनाको साटो रगत बगाएर, बलको साटोमा ज्यान दिएर कसैले कति दूखले पैसा कमाउछन यहाँ, अनि यहाँ महोदयहरु आँखै अगाडि लुटिदिनुहुन्छ ।

जापान आउदा प्रारम्भिक भाषा लगायत रहनसहन र यहाँको नीति नियमको बारेमा धेरै हदसम्म अन्जान रहनु स्वभाविकै हो।

त्यहि अन्जानपनको फाईदा उठाएर नेपालीलाई नै फसाउने,डुबाउनु कहाँसम्म उपयुक्त लाग्छ तपाईहरुलाई ?

आखिर दाई या साथि भनेरै तपाईमाथि बिश्वास गर्नको प्रतिफल चाहि के? एउटा नेपालीले नेपालीलाई ठग्छ भनेर अरु कोहि बिदेशिको कानमा पर्यो भने हामि र हाम्रो समुदाय प्रति हेर्ने तिनिहरुको दृष्टिकोण के र कस्तो होला ?

सोचौ त एउटा कम्भिन्यन्स स्टोरले तपाई हामिमाथि कति ठुलो बिश्वास का साथ हाम्रै भरमा लाखौको कारोबार गर्छ ?

यदि नेपालीले नै नेपालीलाई अन्तरघात गरेको थाहा पाउदै गर्दा कि जापनिजले हाम्रो ईमान्दारिता माथि प्रश्न उठाउलान कि न उठाउलान? त्यसले घाटा एउटा पिडित पक्षलाई मात्र छैन दिर्घकालिनरुपमा पिडकलाई पनि छ। समग्रमा भन्ने हो भने हाम्रो सिगों नेपाली समुदायलाई नै पनि त्यसका कारण घाटा हुन्छ ।

त्यसैले दुईचार रुपैयाँ लागि ईमान र ईज्जतको साखलाई भूईमा खसाउने काम कहि कसैले नगरिदिनु होला । साथै नेपालबाट जापानमा आउने सोच बनाउनु भएका नयाँ साथिहरुले आफ्ना बिश्वाशिला साथि, आफन्त, स्कुल या कलेजका प्रतिनिधि र समाजिक संघ संस्था बाहेकका जो कोहिलाई अति चाडै बिश्वास नगर्नुहोला ।

हरेक परिस्थितिको डटेर सामान गर्ने साहास र मनोविज्ञान लिएर अनि आफ्नो भाषिक क्षमताप्रति दृढ आत्मबिश्वास बोकेर सकेसम्म आफ्ना काम आफै गर्नु नै तपाईहरुलाई पछि सम्मको लागि सजिलो  हुनेछ ।

यदि कसैसंग आर्थिक कारोबार गर्नैपर्ने परिस्थितिमा हाताहाती पैसा सापट दिने भन्दा बैंक ओभरड्राफ्ट गरेर खातामा पठाउनु भएको खण्डमा पछि कसैले बेईमानि गर्यो भने  प्रहरी सम्म उजुरी गर्नकालागि प्रमाण स्वरुप बैकखातालाई देखाउदा कानुनी  तरिकाले तपाईको फसेको पैसा उठाउन सकिन्छ ।

काम खोजि दिने देखि हरकोहि बहानामा कुनै एक ब्यक्ति बिशेषले पैसा अशुलि गर्नु जघन्य सामाजिक अपराध हो र नैतिक भ्रष्ट्राचार पनि हो ।

त्यसैले ‘रोग लागेर उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु उत्तम’ भनेजस्तै कसैबाट ठगिनु अगावै आफु सजग हुनु बुद्धिमानि हुन्छ ।

तपाई हामि हरकोहि सुख खोज्ने अभिलाशा बोकेरै परदेशमा आउँछौ । स्वाभिमानि नेपालीको परिचय अरुप्रति उत्तरदायी हुनु र दया-करुणाको भावना संगै सुरु हुन्छ ।

हामिलाई हाम्रो सामाजिक संस्कार र धर्मले पनि ढाट-छल गरेर खान सिकाउंदैन। त्यसैले आफ्नो स्वाभिमान रक्षाका निमित्त भएपनि आजकै मितिबाट हामिले आफ्नो ईमान्दारितामा कुनै पनि आँच आउन दिने छैनौ भनि प्रण गरौ-गराऔ !!!

जय स्वाभिमान, जय राष्ट्रियता, जय नेपाली, जय नेपाल.!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?