जापानमा किन जान्छ बारम्बार भूकम्प ?

सूर्योदयको देश भनेर चिनिने जापान भूकम्पीय जोखिमका हिसाबले निकै जोखिमपूर्ण देश पनि हो । जापानमा पछिल्ला केही दिनमा लगातार ठूलो मात्राका भूकम्प महसुस गरियो ।

त्यसो त यतिबेला चीन, दक्षिण कोरिया, अस्ट्रेलियासहितका समुद्री किनारामा रहेका देशहरुको विरोधका बाबजुद जापानले फुकुशिमा दाइजी परमाणु संयन्त्रको पानी प्रशान्त महासागरमा मिसाइरहेको छ । यो दुर्घटना पनि सन् २०११ मा आएको शक्तिशाली भूकम्पकै कारण भएको थियो ।

जापानमा हरेक वर्ष औसत १५ सय भन्दा बढी भूकम्प आउछन् भने केही वर्षको अन्तरालमा ठूला भूकम्पहरु आउने गरेका छन् । दक्षिण जापानमा यसरी बारम्बार भूकम्प जानुको कारण जमिनमुनि रहेका पहाड आकारका चट्टानका ठूला रास हुनसक्ने वैज्ञानिकहरुले जनाएका छन् ।

वैज्ञानिकहरूले दक्षिणी जापानको तटमुनि कुमानो प्लुटोन नामको संरचना फेला पारेका छन् ।

वैज्ञानिकहरुका अनुसार ठूला भूकम्पहरूबाट आउने टेक्टोनिक उर्जा यस वरपरको विभिन्न विन्दुहरूमा डाइभर्ट हुने गरेको कुमानो प्लुटोनको ३ डी भिजुअलाइजेसनले खुलासा गरेको छ ।

कहाँ, कहिले र कसरी ठूला भूकम्प जान्छन् भनेर ठ्याक्कै भविष्यवाणी गर्न नसकिए पनि नमुनालाई मोनिटरिङ डाटासँग मिलाउँदा निकट भविष्यका प्रक्रियाहरु अनुमान गर्न सकिने वैज्ञानिकहरुको भनाई छ ।

कुमारनो प्लुटनोको वास्तविक हद (क्षेत्र) लाई बुझ्न वैज्ञानिकहरूले २० वर्षदेखिको भूकम्पीय तथ्यांक जाँच गरेका थिए । जसमा सेस्मिक सेन्सर्सको जापान नेटवर्कबाट लाखौं रेकर्डहरू समावेश गरिएको थियो ।

कुमानो प्लुटोन निकै घना र कठोर हुने तथा यसले भूकम्प ल्याउने टेक्टोनिक गतिविधिलाई सहयोग गर्ने उनीहरुको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?