को हुन् नोबेल शान्ति पुरस्कार पाउने नर्गिस मोहम्मदी ?

यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी महिला पत्रकार तथा अधिकारकर्मी नर्गिस मोहम्मदीलाई प्रदान गरिने भएको छ ।

महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको संघर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि गरेको योगदानका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

आगामी डिसेम्बर १० मा नोबेल पुरस्कार प्रदान गरिनेछ । नोबेल समितिले शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूलाई तिनको देशको नागरिक समाजको प्रतिनिधि मान्छ ।

मोहम्मदी इरानको कुख्यात मानिने इभिन जेलमा छिन् । इभिन जेल सरकारविरोधी प्रदर्शनकारीहरू, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरूलाई राखिने कारागार हो ।

यो जेलमा कैदीहरूलाई यातना, अनिश्चितकालसम्म थुन्ने धम्की तथा स्वास्थ्य सुविधामा पहुँच नदिइएको भन्दै पश्चिमा मानव अधिकारवादी संस्थाहरूले आलोचना गर्दै आएका छन् ।

सन् २०२१ मा ह्याकरहरूबाट बाहिरिएको एउटा भिडियोमा सुरक्षाकर्मीले बन्दीहरूलाई कुटपिट गरिरहेको देखिएको थियो ।

मानव अधिकारकर्मीको लामो परिचय बनाएकी उनले इरानमा मृत्युदण्ड अन्त्यका लागि अभियान सञ्चालन गरिरकेकी छन् ।

इरान विश्वमै सबैभन्दा धेरै मृत्युदण्ड दिइने देशमध्ये एक हो । सन् २०१० यता करिब निरन्तरजसो जेलमै रहे पनि मोहम्मदी जेलभित्रैबाट दुर्व्यवहारहरूको खुलासा गर्न सफल भएकी छिन् ।

हाल ५१ वर्ष पुगेकी उनी अहिले ३१ वर्षको जेल सजाय काटिरहेकी छन् । उनका श्रीमान् पनि राजीतिक अभियानकर्मी हुन् । उनीहरूका दुई सन्तानसहित उनी हाल पेरिसमा बस्दै आएका छन् ।

इरानको सत्ताले मोहम्मदीलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ । उनी पाँच पटकसम्म दोषी ठहर भएकी छन् ।

मोहम्मदीलाई सरकारविरुद्ध प्रोपागाण्डा फैलाएको लगायतका आरोप लगाइएको छ । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।

जेलमा बस्दा नर्गिसले साथी कैदीहरुमाथिको यातनालाई समेटेर ह्वाइट टर्चर नामको किताब लेखेकी छन् । सन् २०२२ मा उनलाई रिपोर्टर्स विदाउट बोर्डर्सको साहस पुरस्कारबाट समेत सम्मानित गरिएको थियो ।

नर्गिसले सन् १९९० को दशकदेखि नै महिला अधिकारका विषयमा आवाज उठाउन थालेकी हुन् । फिजिक्स अध्ययन गरेकी उनले २००३ देखि तेहरानको डिफेन्डर्स अफ ह्युमन राइट सेन्टरमा काम गर्न थालिन् ।

नर्गिस मोहम्मदीलाई जेलमा रहेका राजनीतिक कार्यकर्ता, अभियन्ताहरु तथा उनीहरुका परिवारलाई सहयोग गरेको आरोपमा २०११ मा पहिलो पटक जेल सजाय सुनाइएको थियो । २ वर्ष जेल परेर रिहा भएकी उनी २०१५ मा फेरि पक्राउ परेकी थिइन् ।

नोबेल पुरस्कार विजेताले नोबेल स्वर्ण पदकसहित १ करोड १० लाख स्वीडिस क्रोना अर्थात ९ लाख ९० हजार अमेरिकी डलर प्राप्त गर्छन् ।

नोबेल शान्ति पुरस्कारको सुरुवात सन् १९०१ देखि भएको हो । हालसम्म यो पुरस्कारबाट १११ जना व्यक्ति र ३० वटा संस्था पुरस्कृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?