चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्दै भारतले रच्यो इतिहास

भारत चन्द्रमामा पुग्ने चौथो देश बनेको छ । रुस, अमेरिका र चीनपछि चन्द्रमामा सफल मानवरहित अन्तरिक्षयान अवतरण गराउँदै भारतले इतिहास रचेको हो ।

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा एक मानवरहित अन्तरिक्षयान सफल अवतरण गराउँन सफल भयो । यससँगै कम अन्वेषण गरिएको दक्षिणी भागमा पुग्ने भारत पहिलो देश बनेको छ । चन्द्रमाको सतहमा यो भारतको पहिलो नियन्त्रित अवतरण हो ।

चन्द्रयान–३ को विक्रम ल्यान्डर योजना अनुसार नै भारतीय समयअनुसार बुधबार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गरेको थियो ।

४ जुलाईमा श्रीहरिकोटाबाट उडान गरेको चन्द्रयान–३ चालीस दिन लामो यात्रा पूरा गरेर चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेको हो ।

अवतरणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) का वैज्ञानिक र भारतीय जनतालाई बधाई दिँदै यो क्षण ‘अविश्मरणीय’ र ‘अभूतपूर्व’ बताए । चन्द्रयान–३ चन्द्रमाको सतहमा पुगेलगत्तै भारतमा खुसियाली मनाइएको थियो ।

अमेरिकी अन्तरिक्ष संस्था नासा र युरोपेली अन्तरिक्ष निकाय इएसएले चन्द्रयान–३ को सफलताका लागि इसरोलाई बधाई दिएका छन् ।

वैज्ञानिकहरूले अवतरणअघिको अन्तिम १५ मिनेट समयलाई निकै महत्वपूर्ण एवं त्रासपूर्ण भएको बताएका कारण सो अवधिलाई संसारभरबाट व्यग्रताका साथ हेरिएको थियो ।

गत साता रुसले पठाएको अन्तरिक्षयान लुना–२५ चन्द्रमाको सतहमा पुग्नुअघि नै दुर्घटनाग्रस्त भएको थियो । अगस्टको सुरुमा चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै चन्द्रयानको ल्यान्डर विक्रमले चन्द्रमाको सतहका तस्बिरहरू पठाइरहेको छ ।

अवतरण भएको केही समयपछि विक्रम ल्यान्डरबाट छ वटा पांग्रा भएको रोभर बाहिर निस्किनेछ र चन्द्रमाको सतहमा रहेका चट्टान र खाडलहरूतिर अघि बढ्दै पृथ्वीमा महत्वपूर्ण तस्बिर तथा डेटाहरू पठाउनेछ ।

चन्द्रमाको एक दिन पृथ्वीमा १४ दिन हुन्छ । ल्यान्डर र रोभरका ब्याट्रीहरूलाई चार्ज हुन र काम गर्न सूर्यको प्रकाशको आवश्यकता पर्छ । रात परेपछि तिनले काम गर्न छाड्छन् । चन्द्रमामा अर्को दिन हुँदा त्यसले फेरि काम गर्छ वा गर्दैन स्पष्ट छैन ।

यसअघि सन् २०१९ मा समेत भारतले चन्द्रयान–२ मिसनलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो । तर यान दुर्घटनाग्रस्त भएपछि उक्त अभियान विफल भएको थियो ।

सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र मिशन चन्द्रयान–१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो । त्यसले दिउँसोको समयमा चन्द्रमामा वायुमण्डल पनि हुने जनाएको थियो ।

एउटा अर्बिटर, ल्यान्डर र रोभर रहेको चन्द्रयान–३ लाई दक्षिण भारतको श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रबाट गत जुलाई १४ मा प्रक्षेपण गरिएको थियो ।

ल्यान्डरको नाम ‘विक्रम’ इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) का संस्थापक विक्रम साराभाईप्रति सम्मान व्यक्त गर्न राखिएको हो । ल्यान्डरमा २६ किलोग्रामको ‘प्रज्ञान’ नामक रोभर छ । प्रज्ञान संस्कृत शब्द हो । जसको अर्थ ‘विवेक वा बुद्धि’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?