स्याखाई होकेनको बिरामी चोटपटक भत्ता (Shōbyō teate–kin) कसरी प्राप्त गर्ने ?

विष्णु तिवारी । सामाजिक बीमा (स्याखाई होकेन) भन्नाले रोग, चोटपटक, बेरोजगारी, अपाङ्गता, वृद्धावस्था आदिका लागि आवश्यक बीमा सुविधा प्रदान गर्ने सार्वजनिक बीमालाई जनाउँछ ।

यसपटक हामी यही स्याखाई होकेन हुँदा बिरामी वा चोटपटकका कारण काममा अनुपस्थित हुँदा वा काम गर्न नसक्दा (बिरामी चोटपटक भत्ता Shōbyō teate–kin) प्राप्त गर्न सकिने बारेमा लेख्ने प्रयास गरेका छौं ।

बिरामी वा चोटपटकका कारण काममा अनुपस्थित हुँदा बिरामी चोटपटक भत्ता प्राप्त गर्न सकिन्छ । शोउब्यौं तेआते किन् (चोटपटक र बिरामी भत्ता) बिरामी बिदामा हुँदा बिमित व्यक्ति र उसको परिवारको जीविकोपार्जन सुनिश्चित गर्न स्थापना गरिएको प्रणाली हो ।

जब बीमा गरिएको व्यक्ति काम बाहेकका कारणले बिरामी वा चोटका कारण काममा अनुपस्थित भई काम गर्ने कम्पनीबाट पर्याप्त तलब प्राप्त गर्न नसकेका बखत यो बीमा भत्ता प्राप्त गर्न सकिन्छ ।

यो कामका कारण, कामका सिलसिलामा वा काममा जाँदा आउँदा हुने बिरामी वा चोटपटकको समयमा प्राप्त गर्ने राहतको रोसाई र कोयोहोकेन् भन्दा फरक विषय हो । त्यसैले नझुक्किनुहोला ।

भत्ता प्राप्त गर्ने सर्तहरू

निम्न सर्तहरू (१) देखि (४) पूरा भएपछि शोउब्यौँ तेआतेकिन प्राप्त गर्न सकिन्छ ।

१. काम बाहेकका कारणले बिरामी वा चोटपटक लागेर उपचारका लागि कम्पनीमा अनुपस्थिति भएको कारण हुनुपर्ने ।

स्वास्थ्य बीमा लाभको रूपमा प्राप्त चिकित्सा उपचारमा मात्र सीमित नभई आफ्नै खर्चमा चिकित्सा उपचार प्राप्त गर्दा पनि काम गर्न नसक्ने भएको प्रमाण दिएमा राहत प्राप्त गर्न सकिन्छ ।

घरमा हेरचाह गर्नुपर्ने अवधिमा पनि राहत प्राप्त गर्न योग्य हुने ।

यद्यपि, काम सम्बन्धी वा आवागमन दुघटनाको केस भने (रोसाई होकेन) औद्योगिक दुर्घटना बीमाद्वारा कभर गरिएको हुन्छ ।

जस्तै बिरामी नमानिने कस्मेटिक सर्जरीलाई यो भत्ताले कभर गरिएको हुँदैन ।

२. काम गर्नलाई असक्षमता भएको

स्वास्थ्य उपचार आदिको जिम्मामा रहेको व्यक्तिको (डाक्टरको) रायमा आधारित काम गर्न नसक्ने अवस्थाको निर्णय गर्ने र बिमित व्यक्तिको कामको सामग्रीलाई विचार गरेर यो निर्धारण गरिने हुन्छ ।

३. लगातार ३ दिनसहित ४ वा सोभन्दा बढी दिन काम गर्न नसक्ने भएको

काम बाहेकका कारणले बिरामी वा चोटपटक लागेर काममा बिदा भएको दिनदेखि लगातार ३ दिन प्रतीक्षा अवधिपछि चौथो दिनदेखि काम गर्न असमर्थ भएको दिनहरूका लागि भुक्तानी गर्दछ ।

प्रतीक्षाको अवधिमा युक्यू बिदाहरू र सार्वजनिक बिदाहरू जस्तै शनिबार, आइतबार र सार्वजनिक बिदाहरू पनि समावेश हुने हुन्छ, त्यसैले तलब प्राप्त गरेको छ कि छैन भन्ने कुराले फरक पार्दैन ।

थप रूपमा यदि काम गर्ने समयमा काम भन्दा फरक कारणले गर्दा बिरामी वा चोटपटक लागि काम गर्न असमर्थ भएमा त्यो दिन प्रतीक्षा अवधिको पहिलो दिनको रूपमा गणना गरिने हुन्छ ।

४. काममा बिदा भएको अवधिको लागि तलब प्राप्त नगरेको हुनुपर्ने ।

काम बाहेक अन्य कारणले बिरामी वा चोटपटक लागेर काममा अनुपस्थित भएको अवधिको बारेमा जीविकोपार्जन सुरक्षा प्रदान गर्ने प्रणाली भएकोले यदि तलब प्राप्त गरेको छ भने चोटपटक र बिरामी भत्ता पाउने छैन । तर तलब प्राप्त भएको भए पनि चोटपटक र बिरामी भत्ताको रकमभन्दा कम भएमा बाँकी भत्ता प्राप्त गर्न सकिनेछ ।

स्वैच्छिक (Voluntarily) र निरन्तर बीमा गरिएको अवधिमा भएको बिरामी र चोटपटकको लागि यो भत्ता प्राप्त गर्न सकिने छैन । चोटपटक र बिरामी भत्ता प्राप्त गर्न सकिने रकम तलब रकमको दुई तिहाइ हुन्छ ।

उदाहरणको लागि औसत तलब ३ लाख येन भएको व्यक्तिले चोटपटक र बिरामी भत्ता बापत ३ लाख येनको दुई तिहाई अर्थात् २ लाख येन प्राप्त गर्न सक्छन् । केही अपवादबाहेक राष्ट्रिय स्वास्थ्य बीमामा चोटपटक र बिरामी भत्ता प्रणाली छैन । यो सुविधा स्याखाई हिकेनको हकमा मात्र लागू हुन्छ ।

चोटपटक र बिरामी भत्तामा कर लाग्दैन अर्थात हिखाजेई हुन्छ । तर सामाजिक बीमा स्याखाई होकेनको पैसा भने तिर्नुपर्ने नियम हुन्छ । हिखाजेई भएपनि स्याखाई होकेन भने तिरी राख्नु पर्ने हुन्छ । तर स्युसान तेआतेकिन (सुत्केरी भत्ता) र बाल हेरचाह बिदा प्राप्त गर्दा भने स्याखाई होकेन् तिर्नु नपर्ने नियम हुन्छ ।

थप केही जान्न परेमा स्याखाई होकेनको कार्यालय वा स्वास्थ्य बीमा संघसँग परामर्श गर्दा राम्रो हुन्छ र परामर्श गर्नुअघि आफैंले पनि यो विषयमा केही बुझेर गएमा सजिलो हुनेछ । स्याखाई होकेनका बारेमा थप लेख अर्को अंकमा लेख्नेछौं बाँकी अर्को अंकमा हेर्नु होला ।

“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”

यस लेख बारे थप जिज्ञासा भएमा [email protected] ईमेल गर्न सक्नु हुने छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?