उच्च–लागत चिकित्सा खर्च (कोउगाकुइर्योउही) भनेको के हो ? र यो कसरी प्राप्त गर्ने ?

विष्णु तिवारी । प्रायः जापानमा बस्दै आएका व्यक्तिलाई जापानको स्वास्थ्य बीमा लाभको बारेमा त सामान्य जानकारी भएकै हुनुपर्छ ।

जापान बस्ने र सिटी कार्यालयमा आफ्नो ठेगाना दर्ता भएका व्यक्ति सम्पूर्णले जापान सरकारको कोकुमिन केनकोउ होकेनमा (स्वास्थ्य बीमा) आबद्ध हुनुपर्ने अनिवार्यता छ ।

स्वास्थ्य बीमामा आबद्ध जो कोहीले उपचार गर्नु पर्दा अस्पताल, क्लिनिकमा व्यक्ति आफैले ३० प्रतिशत र सरकारले ७० प्रतिशत तिर्नुपर्छ ।

बच्चाको हकमा भने स्वास्थ्य बीमा र स्थानीय सरकारले निःशुल्क उपचार सुबिधा प्रदान गर्छन् । यो उपचार खर्च सरकारले अस्पताल वा क्लिनिकमा तिर्नेछन् ।

यो सुबिधाका बारेमा अधिकांशलाई थाहा भएको नै हुन्छ । तर यस लेखमा हामी यो भन्दा पनि थप सुबिधा हुने उच्च–लागत चिकित्सा खर्चको (कोउगाकुइर्योउही) का बारेमा जानकारी दिनेछौं ।

उच्च–लागत चिकित्सा खर्च (कोउगाकुइर्योउही)

उच्च–लागत चिकित्सा खर्च (कोउगाकुइर्योउही) भन्नाले कुनै एउटै महिनामा महिनाको पहिलो दिनदेखि अन्त्यसम्म गरेको स्वास्थ्य खर्चको लागि स्वभुक्तानी रकम उच्च हुने अवस्थामा निश्चित रकम (स्वभुक्तानी सीमा) नाघेको अंश पछि फिर्ता गरिने हुन्छ । यहि प्रणालीलाई कोउगाकुइर्योउही भनिन्छ ।

यदि चिकित्सा खर्च धेरै लाग्नेछ भनेर पहिले नै थाहा हुने भएमा गेन्दोगाकु तेकियो निन्तेइस्यो -Gendo–gaku tekiyō nintei–shō (限度額適用認定証) पहिले नै आवेदन गरिराख्दा फाइदा हुन्छ ।

उदाहरणका लागि:
मासिक आय २ लाख ८० हजार येनदेखि ५ लाख येनसम्म भएको व्यक्तिले एक महिनाको लागि चिकित्सा खर्चको अधिकतम सीमा रकम ८० हजार १०० येन +(चिकित्सा खर्च–२६ लाख ७ हजार येन)× १ प्रतिशतका हिसाबले तिर्नुपर्ने हुन्छ ।

२ लाख १२ हजार ५७० येन उच्च लागतको चिकित्सा खर्चको रूपमा भुक्तान फिर्ता प्राप्त गरिने र वास्तविक भुक्तानी गर्नुपर्ने रकम मात्र ८७ हजार ४३० येन हुनेछ ।

अधिकतम चिकित्सा खर्च सीमा

एक महिनाका लागि तिर्नुपर्ने अधिकतम चिकित्सा खर्च सीमा बीमित व्यक्तिको उमेर र आम्दानीमा निर्भर गर्दछ । तल डाटामा दिइएको अनुसार मासिक आय हुने व्यक्तिले यो अनुसार अधिकतम चिकित्सा खर्च तिर्नु पर्ने हुन्छ ।

थप भार कम गर्ने संयन्त्र
थप भार कम गर्ने संयन्त्र पनि हुने भएकाले यदि माथिल्लो सीमाको उपचार खर्च विगत १२ महिनाभित्रमा तीन पटक वा सोभन्दा बढी पुगेको छ भने चौथो र त्यसपछिको समयलाई ‘बहुपटक’ मानिने र अधिकतम रकम घटाइनेछ । चौथो र त्यसपछिको समयमा लाग्ने खर्च रकम यो तलको डाटा अनुसार हो ।

अस्पताल वा क्लिनिकमा हुने उपचार खर्च उच्च हुन सक्ने समयमा यो प्रक्रियाको आवेदन स्याखाई होकेन भएमा स्वास्थ्य बीमा कार्डमा लेखिएको स्वास्थ्य बीमा कार्यालयमा गर्न सकिन्छ भने राष्ट्रिय स्वास्थ्य बीमा भएकाहरूका लागि सिटी कार्यालयमा गर्न सकिन्छ ।

आबेदन प्रक्रिया र स्थान:

अस्पताल वा क्लिनिकमा हुने उपचार खर्चको रकम उच्च–लागत चिकित्सा खर्च भन्दा बढी पैसा तिर्नुभएको छ भने बढी तिरेको पैसा फिर्ता पाउन सकिन्छ ।

यो प्रक्रियामा सरकारबाट चिकित्सा उपचार खर्च फिर्ता गर्नुअघि कागजातहरू जाँच गर्ने गर्छन र यो प्रक्रियामा समय ३ महिनाभन्दा बढी लाग्न सक्ने हुन्छ । स्वास्थ्य संस्थाहरूबाट प्राप्त गरिएको चिकित्सा शुल्क विवरणहरू (रसिदहरू) समीक्षा गरी जाँच गरिनेछ ।

फिर्ता प्राप्त गर्न समय लाग्ने हुनाले चिकित्सा खर्च तिर्न प्रयोग गरिने रकम उच्च लागतको चिकित्सा हेरचाह लाभहरूको अपेक्षित रकमको ८० प्रतिशत कोषको रूपमा बिना ब्याज ऋण दिइने व्यवस्था पनि छ ।

आवेदन म्याद:
स्वास्थ्य बीमा लाभहरू प्राप्त गर्न सकिने अधिकार सुबिधा लाभ प्राप्त गर्न सम्भव भएको दिनको भोलिपल्टबाट दुई वर्षसम्म हुन्छ । उच्च लागत चिकित्सा खर्चका लागि स्वास्थ्य उपचार गरेको महिनाको अर्को महिना पहिलो दिनबाट आवेदन गर्न पाइने हुन्छ ।

“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?