गोउदोउखाइस्या (सीमित दायित्व कम्पनी) को फाइदा र बेफाइदाहरू

विष्णु तिवारी । २००६ मा गरिएको कम्पनी ऐन परिमार्जनपछि नयाँ कम्पनी गोउदोउखाइस्याको जन्म भएको हो । यस लेखमा विशेष गरी ठूलो संख्यामा स्थापना भएका सीमित दायित्व कम्पनीका फाइदा र बेफाइदाहरूको बारेमा विस्तारमा प्रस्तुत गर्नेछौं ।


गोउदोउखाइस्या (एलएलसी) १ मे, २००६ मा लागू भएको कम्पनी ऐन अन्तर्गत स्थापित कम्पनीको नयाँ रूप हो र यसलाई अमेरिकी एलएलसी (सीमित दायित्व कम्पनी) को मोडेलका रूपमा प्रस्तुत गरिएको छ ।

लगानीकर्ता र प्रबन्धकहरू प्राय फरक हुने स्टक कम्पनीहरूको विपरीत गोउदोउखाइस्यामा लगानीकर्ता कम्पनीको प्रबन्धक हुने र लगानी गरेका सबै कर्मचारीहरूलाई कम्पनीको बारेमा निर्णय गर्ने अधिकार हुन्छ ।

सामान्य रूपमा गोदोऊखाइस्याका सबै सदस्यहरूसँग व्यापार प्रतिनिधित्व र कार्यान्वयन गर्ने अधिकार हुन्छ । तर कार्यकारी अधिकार भएका ‘कार्यकारी कर्मचारीहरू’ र कार्यकारी अधिकार नभएका ‘कर्मचारीहरू’ पनि विभाजन गर्न सकिन्छ ।

कम्पनीको प्रतिनिधिका रूपमा खाबूसिकी खाइस्याका ‘प्रतिनिधि निर्देशक’ भने जस्तै ‘प्रतिनिधि कर्मचारी’ नियुक्त गर्न पनि सकिन्छ ।

गोउदोखाईस्याको फाइदाहरू :-
१. स्थापना लागत कम खर्चमा सकिने
गोउदोऊखाइस्या खाबुसिकीखाइस्या भन्दा कम लागतमा तयार गर्न सकिन्छ । कम्पनी स्थापना गर्दा होउमुक्योकुमा दर्ता लाइसेन्स कर खाबुसिकीखाइस्याका लागि १५ मान येन र गोउदोऊखाइस्याको हकमा ६ मान पर्छ ।

खाबुसिकीखाइस्याको निगमनका लेखहरूलाई प्रमाणीकरण गर्न ३ मानदेखि ५ मान पर्ने हुन्छ भने गोउदोऊखाइस्याको हकम प्रमाणीकरण आवश्यक हुँदैन । निगमनका लेखहरूलाई प्रमाणीकरण गर्न नपर्ने हुँदा गोउदोऊखाइस्याको स्थापना गर्न लामो समय लाग्दैन ।

२. स्वामित्व र व्यवस्थापन एकरूपता भएकाले छिटो निर्णय लिन सम्भव हुने

खाबुसिकीखाइस्याको हकमा कम्पनीको नीति र महत्त्वपूर्ण विषयहरूमा निर्णय गर्दा सेयरधनीहरूको साधारण सभा गर्न आवश्यक हुन्छ ।

तर गोउदोऊखाइस्यामा लगानीकर्ता (कर्मचारी) प्रबन्धक हुने हुँदा छिटो निर्णय गर्न सम्भव हुन्छ । यसले व्यवस्थापनमा थप स्वतन्त्रता प्रदान गरी कम्पनीले तेस्रो पक्षहरूको अनिर्दिष्ट संख्याबाट लगानी प्राप्त नगर्ने हुनाले तेस्रो पक्षहरूलाई कम्पनी व्यवस्थापनमा हस्तक्षेप गर्न गाह्रो हुने हुन्छ ।

३. वित्तीय विवरण प्रकाशित गर्न बाध्यता नहुने

प्रत्येक वर्ष आफ्नो वित्तीय विवरण सार्वजनिक घोषणाहरू गर्न बाध्य नहुने । सामान्यतया, वित्तीय विवरणहरूको सार्वजनिक सूचनाहरू आधिकारिक राजपत्रहरूमा प्रकाशित गर्नु नपर्ने र तिनीहरूको लागत पनि नलाग्ने हुन्छ ।

४. अधिकारीको कुनै अवधि नहुने

अधिकारीहरूको पदावधि जुन सामान्यतया खाबुसिकीखाइस्यामा दुई–दश वर्षको हुन्छ भने गोउदोउखाइस्यामा असीमित हुन्छ । अधिकारीको दर्ता र इजाजतपत्र कर (१ मान येन वा ३ मान येन) पुनः नियुक्ति दर्ताका लागि लाग्ने हुन्छ । जुन प्रत्येक पटक अधिकारीको पदावधि समाप्तको समयमा लाग्ने हुन्छ भने गोउदोउखाइस्यामा यो लाग्दैन ।

५.नाफा बाँडफाँड निर्णय गर्ने स्वतन्त्रता

कम्पनीको नाफालाई लगानीकर्ता (सेयरहोल्डर) लाई लाभांशको रूपमा वितरण गरिन्छ । खाबुसिकीखाइस्यामा लगानी अनुपातका आधारमा लगानीकर्ताहरूलाई नाफा बाँडफाँड गर्ने निर्णय हुन्छ । अर्को शब्दमा जति धेरै पैसा लगानी गरेको हुन्छ त्यति नै बढी नाफा प्राप्त हुन्छ ।

अर्कोतर्फ गोउदोउखाइस्यामा लगानी अनुपातलाई ध्यान नदिई नाफा वितरण स्वतन्त्र रूपमा निगमनका लेखहरूद्वारा निर्धारण गर्न सकिन्छ । गोउदोउखाइस्याको विशेषता भनेको लगानीको मात्रा बाहेक प्राविधिक क्षमता र व्यापार कार्यसम्पादन जस्ता कारकहरूको आधारमा नाफा वितरण निर्धारण गर्न सकिन्छ ।


गोउदोउखाइस्याको बेफाइदा:-

गोउदोउ खाइस्याको विश्वसनीयता र कोष संकलन सन्दर्भमा खाबुसिकीखाइस्याको तुलनामा बेफाइदाहरू पनि छन् । यहाँ यो विषयमा विस्तृत रुपमा व्याख्या गर्नेछौं ।

खाबुसिकीखाइस्याको भन्दा कम ज्ञात र कम लोकप्रिय

यद्यपि गोउदोउखाइस्याको संख्या बढ्दै गएको भए पनि जापानमा कम्पनीहरू भन्नाले खाबुसिकीखाइस्याको छवि बलियो छ । जापानमा धेरै व्यक्तिहरू खाबुसिकीखाइस्याको बाहेक अन्य कम्पनीबीचका भिन्नताहरू बुझ्ने व्यक्ति थोरै छन् ।

गोउदोउखाइस्याको नाम कम परिचित भएका कारणले व्यापार साझेदारहरूले ‘कम्पनीसँग धेरै रकम छैन’ भन्ने गलत मूल्यांकन राख्न सक्ने र काम गर्दा कर्मचरीको भर्नामा आकर्षित गर्न गाह्रो हुन सक्ने हुन्छ ।

लगानीकर्ता (कर्मचारी) एकअर्कासँग विवाद हुँदा निर्णय लिन गाह्रो हुने

गोउदोउखाइस्याको लगानीकर्ता (कर्मचारी) व्यवस्थापन हुने र सबै लगानीकर्तासँग समान निर्णय गर्ने अधिकार हुन्छ ।

यसबाट व्यवस्थापनमा द्रुत निर्णय लिन सक्षम हुने फाइदा भए तापनि लगानीकर्ता (कर्मचारी) बीचको द्वन्द्व भएमा व्यवस्थापन र सञ्चालनलाई प्रतिकुल असर पार्न सक्छ ।

लगानीकर्ता (कर्मचारी) को राय एकताबद्ध भएमा वा प्रतिनिधित्व गर्ने अधिकार एक मात्र लगानीकर्ता (कर्मचारी) भएमा कुनै समस्या हुदैन । तर धेरै लगानीकर्ता (कर्मचारी) को प्रतिनिधित्व गर्ने अधिकार भएमा भने फरक पर्ने हुन्छ ।

यदि सबै लगानीकर्तासँग समान निर्णय गर्ने अधिकार भयो भने बिचारको द्वन्द्व भएमा नियन्त्रण बाहिर जान सक्ने र व्यापार गतिविधिहरुमा अवरोध गर्न सक्ने प्रबल सम्भावना हुन्छ ।

वित्तिय विधिहरू खाबुसिकीखाइस्याको भन्दा बढी सीमित

गोउदोउखाइस्याहरु खाबुसिकीखाइस्याको विपरीत शेयर बेचेर रकम जुटाउन गाह्रो हुने हुन्छ । गोउदोउखाइस्याहरुको कोष जुटाउने मुख्य माध्यम वित्तीय संस्थाहरूबाट उधारो (ऋण) को अतिरिक्त राष्ट्रिय र स्थानीय सरकारहरूबाट अनुदान लिने र कोषका विधिहरू खाबुसिकीखाइस्याको भन्दा बढी सीमित हुने हुन्छ ।

अधिकार हस्तान्तरण र उत्तराधिकारको निर्णयमा कठिनाइ

प्रतिनिधि स्याइनको उत्तराधिकार र लगानीकर्ता भएको स्याइनको पोजिसन अरू कसैलाई हस्तान्तरण गर्दा सबै स्याइनको सहमति लिनु पर्ने सिद्धान्त छ । त्यसैले अधिकार हस्तान्तरण धेरै सावधानीपूर्वक गर्नुपर्ने हुन्छ । स्थानान्तरण वा उत्तराधिकारको कारणले कम्पनीभित्र द्वन्द्वको जोखिम पनि हुनसक्छ ।

अन्त्यमा, कम्पनी स्थापना गर्दा सावधानीपूर्वक खाबुसिकीखाइस्या वा गोउदोउखाइस्याको फाइदा बेफाइदा बुझेर छनोट गरौं । व्यवसायको प्रकृति, स्केल, भविष्यको सम्भावना र मानवीय वातावरणको आधारमा फाइदा र बेफाइदाको महत्त्व फरक पर्ने हुदा यी विषयलाई मध्यनजर गरी कम्पनी स्थापना गर्दा उपयुक्त हुन्छ ।

“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?