विष्णु तिवारी । हामीले यस अघि एइज्युकेन लिनलाई जापानमा बस्नु पर्ने अवधि, आवश्यक कागज पत्र, एइज्युकेनबाट लिन सकिने फाइदा र एइज्युस्या हुनका लागि हुनुपर्ने आवश्यक गुणका बारेमा प्रष्ट पार्ने कोशिस गरेका थियौँ । यसपटक भने हामीले एइज्युकेन लिनको लागि अंक प्रणालीका बारेमा प्रष्ट पार्ने जमर्को गरेका छौँ ।
एइज्युकेन (स्थायी बसोबास) भनेको विदेशीहरूले आवासको अन्य स्थितिहरूको तुलनामा जापानमा स्वतन्त्र तरिकाले स्थायी रुपमा कुनै सीमा बिना बस्न पाउने अधिकार हो ।
स्थायी बासिन्दा भएमा बसाइँको अवधि हट्ने र काममा कुनै प्रतिबन्धहरू नहुने, विश्वासिलो पात्रको रुपमा हेरिने लगायतका सुविधा प्राप्त हुन्छ ।
‘उच्च दक्ष पेशावालाहरु’ (Kōdo senmon–shoku) का लागि एइज्युकेन आवेदनको लागि आवश्यकताहरु
यदि विदेशी नागरिकहरुको उच्च–दक्ष विदेशी व्यावसायिक अंक लगातार तीन वर्ष कम्तीमा ७० अंक कटेको छ वा एक वर्ष कम्तीमा ८० अंक कटेको छ भने, स्थायी बसोबासका लागि आवेदन दिन सक्छन् ।
उच्च दक्ष व्यावसायिक भिसा नभए पनि वर्किंङ भिसा, जापानी नागरिकका पति/पत्नी, एइज्युकेनका जीवनसाथी र तेइजु भिसा हुनेहरूले पनि अंक ७० वा ८० काटाएमा आवेदन दिन सक्छन् ।
स्थायी बसोबासको लागि अनुमति प्राप्त गर्न सामान्यतय जापानमा १० वर्ष वा सो भन्दा बढी समय बसोबास गरेको हुनुपर्छ ।
उच्च–दक्ष विदेशी पेशेवरहरूका लागि, स्थायी निवासको अनुमतिको आवेदन दिँदा अंक गणनाको परिणाम स्वरूप ७० वा सो भन्दा बढी अंक प्राप्त गरेको र जापानमा ३ वर्ष भन्दा बढी समय बसोबास गरेको हुनुपर्ने व्यवस्था छ भने र ८० वा सोभन्दा बढी अंक प्राप्त गरेमा जापानमा १ वर्ष मात्र बसेको भए पनि हुन्छ ।
‘उच्च दक्ष पेशावालाहरु’ को रूपमा चिनिनका लागि अध्यागमन ब्युरोले घोषणा गरेको अंक तालिकामा ७० वा सोभन्दा बढी अंक प्राप्त गरेको अवस्था हुनु पर्ने हुन्छ ।
अंक तालिकामा निम्न विषयहरु ‘उच्च दक्ष व्यावसायिकको एइज्यु प्राप्तिका लागि गरिने जाँचका आधार हुन् ।
१. शिक्षाको लेभल
२. कार्य इतिहास
३. वार्षिक आय
४. उमेर
५. जापानी भाषाको स्तर
६. कोक्खा सिखाकुको योग्यता
७. विशिष्ट विद्यालयबाट स्नातक
८. विशेष क्षेत्रको काममा संलग्न आदि ।
८० वा सोभन्दा माथिको अंक प्राप्त गरेको उच्च दक्ष विदेशी पेशावालाले लगातार एक वर्षभन्दा बढी समय जापानमा बसेको र स्थायी बसोबासको अनुमति प्राप्त गरेको खण्डमा पति वा पत्नी वा आश्रित बच्चाहरू यो मापदण्डमा नपर्ने हुनाले उनीहरुले यो सुबिधा प्राप्त गर्न सक्दैनन् ।
स्थायी बासिन्दाको निवास (एइज्युकेन) कार्ड प्रत्येक सात वर्षमा एक पटक नवीकरण गर्नुपर्छ । यदि आफ्नो ठेगाना परिवर्तन भएमा सूचित गरी ठेगाना परिवर्तन गर्नुपर्ने दायित्व रहन्छ ।
साथै, ‘स्थायी बासिन्दा’ भएका विदेशी नागरिकको बच्चा जन्मेमा जन्म भएको ३० दिन भित्र ‘स्थायी बासिन्दा’ भिसाको लागि इमिग्रेसनमा आवेदन दिईसक्नु पर्ने र ६० दिन भित्रमा भिसा प्राप्त गरी सक्नु पर्ने कानून रहेको छ ।
कुन विषयमा कति पोईन्ट प्राप्त हुन्छ ? थप जानकारी तलको चार्टमा हेर्नुहोस :

※नोट : यदि ‘स्थायी बासिन्दा’ ले पुनः प्रवेश अनुमति प्राप्त नगरी जापान छोडेमा एइज्युको निवासको स्थिति खारेज हुनेछ । साथै, पुनः प्रवेश अनुमति लिएर जापान छोड्दा र म्याद नाघेको बेला पनि भिसा खारेज हुने हुन्छ । त्यसैले सावधान रहनु उपयुक्त हुन्छ ।
“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”