श्रम विवाद समाधान गर्ने योजनाको जापानद्वारा स्वागत

जापानका प्रधानमन्त्री फुमियो किशिदाले युद्धकालीन श्रम विवाद समाधान गर्न दक्षिण कोरियाले घोषणा गरेको नयाँ योजनाको स्वागत गरेका छन् ।

प्रधानमन्त्री किशिदाले जापानसँग स्वच्छ सम्बन्ध कायम गर्नका लागि दक्षिण कोरियाले अघि सारेको योजनाप्रति प्रतिक्रिया दिएका हुन् ।

उनले दक्षिण कोरिया महत्वपूर्ण छिमेकी भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा विभिन्न चुनौतीको समाधानका लागि जापान र दक्षिण कोरिया साथ हुनुपर्ने बताएका छन् ।

उनले वर्तमान सामरिक माहोललाई मध्यनजर गर्र्द जापान–दक्षिण कोयिाले सामरिक सहयोगका साथसाथै जापान, अमेरिका र दक्षिण कोरियाको त्रिपक्षीय साझेदारी बलियो बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।

दक्षिण कोरिया सरकारले जापानसँग युद्धकालीन श्रम मुआब्जा सम्बन्धी लामो समयदेखि विचाराधीन मुद्दा समाधान गर्न जापानी सरकारको साटो सरकार समर्थित कम्पनीले पीडितहरुलाई हर्जना तिर्ने गरी योजना अघि सारेको छ ।

दोस्रो विश्वयुद्धका क्रममा यी कम्पनीले जबर्जस्ती श्रममा सहभागी गराएको भन्दै उनीहरुका परिवारले जापानसँग हर्जना दाबी गरेका थिए ।

यो योजनाको उद्देश्य जापानसँग सम्बन्ध सुधार गर्नु रहेको छ । जुन दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब मानिन्छ ।
दक्षिण कोरियाको सर्वोच्च अदालतले सन् २०१८ मा जापानी कम्पनीलाई पीडितहरुलाई हर्जना तिर्न आदेश दिएको थियो ।

जापान सरकारले भने सन् १९६५ मा दुई देशको सम्बन्ध सामान्यीकरण गर्नुअघि पूर्ण र अन्तिम रुपमा हर्जनाको मुद्दा टुंगो लगाएको दाबी गर्दै आएको छ ।

दक्षिण कोरियाको योजना अनुुसार स्वेच्छिक प्रयासले आवश्यक रकम जुटाइनेछ । उदाहरणका रुपमा दक्षिण कोरियासँग सम्बन्धित कम्पनीहरुबाट चन्दा जस्ता निजी क्षेत्रबाट रकम जुटाइनेछ ।

तर केही वादीहरुले जापानले श्रम शोषण गरेको भन्दै सरकार समर्थित संस्थाबाट मुआब्जा स्वीकार नगर्ने बताएका छन् ।

विदेशमन्त्री पार्कले यो निर्णय लिँदा सरकारले वादीहरुको बढ्दो उमेर र जापानसँग सम्बन्ध सुधारलाई ध्यानमा राखेको जनाएका छन् ।

पार्कले नयाँ उपायले दुई पक्षीय सम्बन्ध प्रगाढ एवं. भविष्योन्मुख बनाउनु सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
युन सोंग–न्योल दक्षिण कोरियाको राष्ट्रपति बनेदेखि नै जापानसँग सम्बन्ध सुधार गर्ने योजना अघि सारेका छन् ।

उनले उत्तर कोरियाको परमाणु तथा मिसाइल विकास कार्यक्रम र अन्य क्षेत्रीय मुद्दा समाधानका लागि अमेरिका, दक्षिण कोरिया र जापानको सहकार्यमा जोड दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?