विष्णु तिवारी । औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा (Rōsai hoken)जापानी नागरिक साथै विदेशी कामदारहरूले पनि आवेदन गर्न पाउने कानून छ।
औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा(Rōsai hoken) ऐन जापानमा कर्मचारीको रुपमा काम गर्ने जूनै कुनै देशको विदेशी नागरिकलाई पनि लागू हुने हुन्छ।
आवासीय स्थिति भएका र कामका लागि अनुमति पाएकाहरू मात्र नभई आंशिक जागिर पाएका विदेशी डिपेन्डेड भिजा बाहक लगाएत विद्यार्थीहरूले पनि घाइते भएमा औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा बाट क्षतिपूर्ति प्राप्त गर्न सक्छन। यस लेखमा जापानमा रहेका विदेशी कामदारहरूले प्राप्त गर्न सक्ने औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमाको प्रकार र सामग्रीहरूको बारेमा जानकारी दिने प्रयास गरेका छौँ।
नजिकको श्रम निरीक्षण कार्यालयमा सम्पर्क गरी कुनै पनि जानकारी तथा भुक्तानीको आवश्यकता बारेमा बुझन सकिन्छ।औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमाबाट क्षतिपूर्ति प्राप्त गर्नको लागि दावीकर्ता जापानमै भएको हुनु पर्ने हुन्छ र यदि स्वदेश फिर्ता भएमा पछि केही सुविधाहरू प्राप्त गर्न नसकिने पनि हुन्छ।
औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा(Rōsai hoken)
यो बीमा प्रणाली अनुशार काम वा काममा जाँदा आउँदाको कारण घाइते, बिरामी वा मृत्यु हुने कामदारहरूको लागि चिकित्सा खर्च जस्ता बीमा सुविधाहरू प्राप्त गर्न सकिन्छ। जापानमा काम गरिराखेको गैर-जापानीहरू पनि औद्योगिक क्षतिपूर्ति बीमाको लागि योग्य हुने कानून छ। औद्योगिक क्षतिपूर्ति बीमा कामको सिलसिलामा हुने क्षतिपूर्तिको लागि लागू हुने हुँदा स्वास्थ्य बीमा औद्योगिक दुर्घटनाहरूको लागि लागू हुँदैन।
रोजगार औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमाको प्रकार
चिकित्सा (क्षतिपूर्ति) लाभ (भत्ता): काम वा काममा जादा आउँदाका कारणले घाइते वा बिरामी परेका कामदारले चिकित्सा उपचारको लागि यो लाभ प्राप्त गर्न योग्य हुन्छन।
रोसाई अस्पताल वा अन्य रोसाई होकेनले तोकिएको अस्पतालहरूमा नि:शुल्क चिकित्सा उपचार प्राप्त गर्न सकिन्छ।
रोसाई होकेनले तोकिएको बाहेक अन्य अस्पतालहरूमा उपचार भएमा अस्पतालमा बिरामीले सुरुमा उपचार खर्च तिर्नु पर्ने हुन्छ र पछि तिरिएको पूर्ण रकम फिर्ता गर्न सकिन्छ।अस्पतामा उपचारको लागि लाग्ने यातायात खर्च पनि केही शर्तहरू पूरा गर्न सकिएमा पूर्ण रूपमा फिर्ता गर्न सकिन्छ।
खर्च गरिएको रकम तिरिएको दिनबाट फिर्ता गर्नको लागि दाबी गर्न सकिन्छ र यो दुई वर्ष सम्म आवेदन गर्न सकिन्छ । यो सुबिधा चोटपटक वा रोग निको नभएसम्म प्राप्त गर्न सकिन्छ।
काममा अस्थायी अनुपस्थिति (क्षतिपूर्ति) लाभ: काम वा काममा जाँदा आउँदाका कारणले घाइते वा बिरामी परेका कामदारले उपचार गर्नको लागि बिदा बस्नुपर्दा र काम गर्न नसक्ने अवस्थामा ज्यालाको क्षतिपूर्ति प्राप्त गर्न सक्छन।
चोटपटक र रोग (क्षतिपूर्ति) पेन्सन : उपचार सुरु भएको १ वर्ष ६ महिनापछि पनि चोटपटक वा रोगबाट निको नहुने अवस्थामा र अशक्तताको गम्भीरता निश्चित भई शारीरिक अपाङ्गता भएको बेलामा प्राप्त गर्ने सकिन्छ।
अशक्तता (क्षतिपूर्ति) लाभ: काम वा काममा जादा आउदाका कारणले घाइते वा बिरामी परेका र अपाङ्गता भएका कामदारले यो सुविधा पाउन योग्य हुन्छन्।
जीवित परिवार (क्षतिपूर्ति) लाभ: कामदारको काम वा काममा जाँदा आउँदाका कारणले मृत्यु भएमा शोकसन्तप्त परिवारले यो सुविधा प्राप्त गर्न सक्छन।
अन्त्येष्टि खर्च : यो लाभले मृतक कामदारको अन्त्येष्टि खर्चहरूको छतिपूर्ति दिन्छ।
नर्सिङ केयर (क्षतिपूर्ति) लाभ: यो लाभले अशक्तता हुने कामदारहरूको लागि नर्सिङ हेरचाहको खर्चहरू कभर गर्दछ जसले चोटपटक र रोग (क्षतिपूर्ति) पेन्सन अथवा निश्चित अपाङ्गता भएको पेन्सन प्राप्त गरेका हुन्छन।
“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”