विष्णु तिवारी । इमिग्रेसनमा इलिजिबिलिटीको आवेदन दिँदा, भिसा थप्दा वा भिसा परिवर्तनका लागि आवेदन गर्दा खाजेइ स्योमेइस्यो बुझाउनु पर्ने हुन्छ ।
खाजेइ स्योमेइस्यो भनेको वार्षिक आय र निवास कर (सिटी कर) आश्रित परिवार लगायतका बारेमा लेखिएको सरकारी सिटी कार्यालयले प्रमाणित गरेको कागजात हो ।
यसबाट अघिल्लो १ वर्षमा भएको कमाई अर्थात् तलब थाहा पाउन सकिन्छ । काम गरेको कम्पनीले गेन्सेन (१ वर्षको तलबी विवरण) सिटी कार्यालयमा पठाइदिने हुँदा सिटी कार्यालयले प्रमाणीकरण गरी खाजेइ स्योमेइस्यो बनाउँछ ।
जापानको करको कानुनअनूसार विदेशमा भएको परिवारलाई आश्रितमा राख्नका लागि परिवारको नाममा पैसा पठाएको हुनुपर्छ । नाता प्रमाणित र विदेशको परिवारको नाममा पैसा पठाएको कागजपत्र प्रत्येक वर्ष कम्पनी र सिटी कार्यालयमा बुझाउनु पर्दछ ।
खाजेइ स्योमेइस्योमा १६ वर्षभन्दा तलका बच्चाहरुको संख्या लेखिने हुँदा गेन्सेन बनाउने बेला सही तरिकाले कम्पनीमा जानकारी गराउनु पर्दछ । इमिग्रेसनले बच्चाको संख्या चेक गरी अभिलेख राख्ने हुँदा भिसा आवेदन गर्दा कुनै आशंका उत्पन्न नहुने गरी सावधानी अपनाउनु पर्दछ ।
सिटी कार्यालयको खाजेइ स्योमेइस्योबाट धेरै विषयको जानकारी प्राप्त हुने हुँदा दिइएको विवरणमा त्रुटि भएका छन् भने सिटी कार्यालयमा गई सच्याउन सकिन्छ ।
खाजेइ स्योमेइस्यो तपाईंको वार्षिक आय र परिवारका आश्रित सदस्यहरुको प्रमाणित गर्ने कागजात भएकोले आफ्नो खाजेइ स्योमेइस्यो राम्रोसँग रुजु गर्न आवश्यक छ । साथीहरुको कुरा सुनी गेनसेनमा धेरै परिवार सदस्य राखेमा कर सस्तो हुन्छ भनी धेरै परिवार आश्रितमा राख्ने गरेको पनि धेरै भेटिन्छन् । तर यसले पछि के असर गर्छ भन्ने हेक्का राख्नु नै बुद्धिमानी हुन्छ ।
जापानमा बच्चा बोलाउन र भिसाको लागि आवेदन दिँदा अस्वीकृत भएको उदाहरण ?
बागलुङ जिल्ला घर भई जापानमा कार्यरत एक जना कुक भिसावाहक खत्री जीले नेपालमा भएको आफ्नो १५ वर्षीय र २० वर्षीय बच्चा जापान बोलाउन र भिसाको लागि आवेदन दिने चाहाना राखी इमिग्रेसनमा आवेदन दिनुभयो । तर उहाँहरुको भिजा रद्द भयो ।
इमिग्रेसनमा गई रद्द हुनुको कारण बुझ्दा आमा बुबा ५–६ वर्षअघि जापान आउनु भएको र बच्चाहरु देशमा नै आफ्नो हजुरबुबा र हजुरआमासँग सानैदेखि बस्दै आएकाले अहिले यो उमेरमा किन जापानमा बोलाउनु प¥यो, बुबा आमाले बच्चाको हेरचाह गर्नुपर्ने सानै उमेरमा हो । तर अहिले भने उनीहरु आफै पनि बस्न सक्छन् भन्ने ठहर हो र जीवनयापनका लागि पैसा रेमिट्यान्स गर्दिए आफ्नै देशमा हजुरबुबा हजुरआमासँग बस्न सक्छन् भन्ने कारण हो । यो समयमा बोलाउनु भनेको कतै काम गर्नलाइ त बोलाउन लगिएको होइन भन्ने आशंका राखी भिसा रद्द गरिएको निर्णय सुनाए ।
यस्तै अर्को हालसालै गुल्मी घर भई लामो समयदेखि जापानमा काम गर्दै आएका सापकोटा थर भएका व्यक्तिको बच्चाहरुको पनि भिजा रद्द भयो र टोकियो इमिग्रेसनमा आवेदन दिएको डिपेन्डेन्टको इलिजिबिलिटिको रद्द हुनुको कारण बुझ्दा उहाँको र उहाँको श्रीमतीको यसअघि भिसा थप्दा बुझाएको खाजेइमा आश्रित परिवार ६ जना भएको तर यसपटक बच्चाहरु नेपालबाट बोलाउनका लागि गरिएको आवेदनका बेलाको खाजेइमा आश्रित परिवार ४ जाना मात्र देखिएको कारण बुझ्न नसकिएकोले भिसा नदिएको कारण सुनाए ।
बच्चा जापान बोलाउनकै लागि कतै यसो गरियो कि भन्ने शंकाका कारण भिसा रद्द भयो ।
कतै तपाईको पनि यस्तै त भएको छैन ? सावधान रहनुहोला, जापान बच्चा बोलाउँदा आश्रित थोरै देखाउने र बच्चा आइसकेपछि फेरि कर सस्तो गर्नलाई आश्रित धेरै देखाउने गर्नाले भविस्यमा यस्तै समस्या आउँनसक्छ, सावधान रहनुहोला र थोरै कर सस्तो हुने लोभले आफ्नो परिवारसँग सधै छुट्टिएर बस्नुपर्ने पनि हुनसक्छ ।
नोटः जापानमा हाम्रो आवास कर र स्यालरी कर ५ वर्षसम्मको फिर्ता गर्न पाउने हुन्छ र फिर्ता गर्नको लागि तपाईंले नेपालमा पैसा पठाएको रेमिट्यान्सको प्रमाण र नाता प्रमाणित बुझाउनु पर्ने हुन्छ । त्यसैले बरु जापानको करको कानुनअनुसार पछि फिर्ता गर्ने तरिका अपनाई अहिलेलाई आफ्नो सम्पूर्ण परिवारको नाम राखी यो समस्याबाट बच्न उचित हुन्छ ।
“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”
