के सुत्केरी वा शिशु हेरचाह बिदा लिदा स्थायी बसोवास (पीआर) आवेदनमा असर गर्छ ?

विष्णु तिवारी । जापानमा धेरै विदेशी महिलाहरु वर्किङ भिसा प्राप्त गरी काम गरिरहेका छन् । तर यसरी काम गरिरहेका महिलाहरुले सुत्केरी वा शिशु हेरचाह बिदा लिँदा स्थायी बसोवासको आवेदनमा केही असर गर्छ कि भन्ने चिन्ता सधैं हुने गर्छ । यो बिदा लिनाले वार्षिक कमाई घट्ने हुन्छ । त्यसैले स्थायी बसोवासको आवेदनमा केही असर गर्छ कि भन्ने सम्बन्धमा आज लेख्ने प्रयास गरेको छौं ।

सुत्केरी वा बाल हेरचाह बिदाको समयमा रोजगारदाताले तलब दिँदैनन् । सुत्केरी बिदा अपेक्षित जन्म मिति भन्दा ६ हप्ता अगाडि र बच्चा जन्मेको आठ हप्ता पछिसम्म लिन सकिन्छ । बच्चा एक वर्षको नहुँदासम्म सुत्केरी बिदापछि बाल हेरचाह बिदा लिन सकिन्छ । त्यसकारण तलब एक वर्षको शून्य हुनेछ भने यसको सट्टा राहत प्राप्त गर्न सकिन्छ ।

सुत्केरी वा बाल हेरचाहमा प्राप्त गर्न सकिने राहत
१ जना बच्चाका लागि ४ लाख २० हजार येन र जुम्ल्याहा बच्चाको हकमा ८ लाख ४० हजार स्युसान इकुजी इचईजिकिन कोकुमिन केनकोउ होकेनबाट प्राप्त गर्न सकिन्छ ।
सुत्केरी भत्ता बच्चा जन्माउनुअघि ४२ दिन र बच्चा जन्मेको ५६ दिन पछिसम्म तलबको दुई तिहाई भाग प्राप्त गर्न सकिन्छ ।

बाल हेरचाह बिदा भत्ता १८० दिनसम्म तलबको ६७ प्रतिशत र बच्चा १ वर्ष नपुगेसम्म ५० प्रतिशत रोजगार बिमाबाट प्राप्त गर्न सकिन्छ ।

यस अनुसार बच्चा जन्माउनु अघिको तलबभन्दा कम हुनेछ । तर आवेदनको समयमा यो प्रमाणपत्र पेश गरेमा यसलाई आयको रूपमा मान्यता दिन सकिन्छ । तसर्थ सुत्केरी बिदा र बाल हेरचाह बिदा सम्बन्धि कागजातहरू भत्ता प्राप्त गरिसकेपछि पनि सुरक्षित राख्नु पर्ने हुन्छ ।

साथै काम गर्ने भिसा लिएर जापानमा बस्ने विदेशीहरूले स्थायी बसोबासका लागि आवेदन दिँदा आफ्नो पछिल्लो ५ वर्षको आम्दानी प्रमाणित गर्ने कागजातहरू पेस गर्नुपर्छ । त्यसैले सुत्केरी बिदा र बाल हेरचाह बिदाको अघि र पछिको आम्दानी पनि प्रमाणित गर्न सकिन्छ ।

के सुत्केरी बिदा वा बाल हेरचाह बिदामा हुँदा स्थायी बसोवासका लागि आवेदन दिन मिल्छ ?
स्थायी बसोबासका लागि आवेदन दिन धेरै समय र तयारी लाग्छ । त्यसैले यदि तपाईंको शारीरिक अवस्था ठीक छ भने सुत्केरी बिदा वा बाल हेरचाह बिदाको समयमा आवेदन नादिनु राम्रो हुन्छ ।

सुत्केरीपछि विभिन्न कारणले गर्दा कतिपय महिलाहरू काममा फर्कन नसक्ने हुन सक्छन् । सम्भव भएमा काममा फर्किएपछि स्थायी बसोबासको लागि आवेदन दिनु राम्रो हुन्छ । काममा फर्किएपछि बाल हेरचाह बिदा भत्ता पनि रोकिन्छ ।

के बच्चा जन्माउन वा बाल हेरचाहका लागि आफ्नो देश फर्कदा स्थायी बसोवासको आवेदनलाई असर गर्छ ?
स्थायी बसोवासका लागि आवेदन दिँदा आवास आवश्यकता हुन्छ । सामान्य नियमको रूपमा कम्तिमा १० वर्षसम्म जापानमा बसेको हुनुपर्छ । (जापान बसाइको स्टाटसको आधारमा कति वर्ष भन्ने फरक पर्न सक्छ)

यो १० वर्षको बीचमा तपाईं जापान छोडेर ३ महिनाभन्दा बढी विदेश वा आफ्नो देश जानु भएको छ भने यसलाई १० वर्षको निरन्तरताको मान्यता दिने छैन । यदि बच्चा जन्माउन वा बाल हेरचाहका लागि आफ्नो देश फर्कनुभयो भने यसलाई विशेष अपवाद ठानिने छैन । यदि भविष्यमा स्थायी बसोबास प्राप्त गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो देशमा बच्चा जन्माउने निर्णय गर्नुअघि सावधानीपूर्वक सोच्नुपर्ने हुन्छ ।

स्थायी बसोबासका लागि आवेदन गर्नेबारे सोचिरहनु भएका धेरै महिलाहरू मुख्यतया सुत्केरी बिदा र बाल हेरचाह बिदाको समयमा हुने आयका बारेमा चिन्तित हुने गर्दछन् । साथै स्थायी बसोबासका लागि आवेदन दिनेबारे नसोची विगतमा सुत्केरी बिदा वा बाल हेरचाह बिदा लिनुभएको छ र त्यस समयको आयका बारेमा चिन्तित हुनुहुन्छ भने कभर गर्न सकिने ठाउँ पनि हुन्छ । त्यसैले माथि उल्लेख भए अनुसारका भत्ता र लाभहरूको प्रमाण पनि सुरक्षित गरी आवेदनका समयमा पेस गर्नुपर्ने हुन्छ ।

“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?