विष्णु तिवारी, टोकियो । जापानमै रहनु भएका कतिपय दम्पतीले सन्तानलाई यही नै जन्म दिनु अहिले सामान्य जस्तै भइसकेको छ । तर कतिपयलाई सुत्केरी भइसकेपछि बिमाबाट कस्ता सुविधाहरु पाउन सकिन्छ भन्नेबारे जानकारी नहुन पनि सक्छ ।
बिमाबाट प्राप्त हुने लाभहरू बारे अग्रिम जानकारीले बच्चा जन्माउनु अघि र पछिको जीवन योजना बनाउन तपाईलाई पक्कै पनि सजिलो बनाउँछ ।
सुत्केरी बिदामा लिन सकिने लाभ बारे जान्नुहोस्:
जापानको श्रम कानुन अनुसार गर्भवती महिला सुत्केरी भएको मिति भन्दा ६ हप्ता अघि र जुमल्याहा बच्चाको हकमा १४ हप्ता अघिदेखि ८ हप्ता पछिसम्म कामबाट विदा लिन पाउँछन ।
आरुबाइतो अर्थात पार्ट टाईम अस्थायी कर्मचारीको हकमा पनि यो बिदा लिन मिल्ने हुन्छ । गर्भवती अवस्थामा चाहेमा काम गर्न पाईन्छ तर सुत्केरी भएपछि भने ६ हप्ता अनिवार्य काममा विदा लिनु पर्ने कानुन छ । यो अवधिमा प्राप्त गर्न सकिने लाभ २ किसिमको छ । स्युसान इकुजी इचईजिकिन र स्युसान तेआतेकिन हो ।
बच्चा जन्माउदा हुने आर्थिक भार घटाउनको लागि सरकारले १ जना बच्चाको लागि ४ लाख २० हजार येन र जुमल्याहा बच्चाको हकमा ८ लाख ४० हजार सुत्केरी र बाल हेरचाहको लागि एकमुष्ट खर्चको रूपमा अनुदान दिन्छ र यसलाई जापानी भाषामा स्युसान इकुजी इचईजिकिन भनिन्छ ।
उक्त रकम अस्पताल वा क्लिनिकमा बच्चा जन्माउँदा लागेको खर्च कटाएर बाँकी रहेको रकम फिर्ता गरिन्छ भने यो रकम भन्दा बढी लागे आफैले थप रकम तिर्नु पर्ने हुन्छ । प्रसुति चिकित्सा क्षतिपूर्ति प्रणालीमा आबद्ध नभएको अस्पताल वा क्लिनिकमा बच्चा जन्माइने अवस्थामा भने ४,०८,००० येन मात्र प्राप्त गर्न सकिन्छ । यो आबेदन बच्चा जन्मिएपछि २ बर्ष भित्रमा गरी सक्नु पर्ने हुन्छ ।
स्युसान तेआतेकिन आरुबाइतो अर्थात पार्ट टाईम अस्थायी कर्मचारी, स्थायी कर्मचारी, हाकेन स्याइनले सुत्केरी बिदामा तलब प्राप्त नगरेको अवस्थामा प्राप्त गर्न सकिन्छ तर बार्षिक १३० (१३ लाख) मान येन भन्दा कम कमाई भई श्रीमान वा श्रीमतीको फुयोमा रहने ब्यक्ति र कोकुमिन केनकोऊ होकेनमा रहेको ब्यक्तिलाई यो सुबिधा उपलब्ध हुदैन ।
यो तलबको ३ भागको २ भाग प्राप्त गर्न सकिन्छ तर कम्पनीबाट तलब प्राप्त गरेको खण्डमा भने यो सुबिधा प्राप्त गर्न सकिन्न । बच्चा जन्माएपछि जन्मेको १४ दिनभित्र बच्चाको जन्मदर्ता सिटी कार्यलयमा गराउनु पर्दछ र सँगै शिशु भत्ता प्रक्रिया पनि पुरा गर्नु पर्दछ । यो प्रक्रिया नगरिएमा बच्चाको भत्ता प्राप्त गर्न सकिदैन ।
शिशुको भिसा र बिदा लिने प्रक्रिया बारे बुझ्नुहोस्ः
जाइरियू कार्ड भिसा प्राप्त गर्ने प्रक्रिया बच्चा जन्मेको ३० दिन भित्र अध्यगमन कार्यालयमा आवेदन दिईसक्नु पर्ने हुन्छ र ६० दिन भित्रमा भिसा लिईसक्नु पर्ने हुन्छ । नभए बच्चा ओभरस्टे हुने संभावाना हुन्छ । बच्चा हुर्काउन जापानको श्रम कानुन अनुसार बच्चा एक वर्ष हुँदासम्म बिदा लिन पाइन्छ । यो विदा आमा मात्र नभई बाबुले पनि लिन मिल्छ ।
यो सुबिधा १ बर्षसम्म लिन मिल्ने हुन्छ तर बच्चा राख्नको लागि होइकुयन नपाइएको अवस्थामा बच्चा दुई वर्ष हुँदासम्म बिदा लिन मिल्छ । बाल हेरचाह बिदा लिनको लागि भने एक महिना अगाडिनै कम्पनीलाई जानकारी गराउनु पर्दछ र लम्ब्याउन आवश्यक भए पनि निर्धारित बिदाको अन्तिम मिति भन्दा कम्तिमा एक महिना पहिलेनै आवेदन दिन आवश्यक हुन्छ । त्यसैले सकेसम्म चाँडो आवेदन गर्न निश्चित हुनुपर्छ ।
शिशु हेरचाह लाभ मासिक कति पाउछ जान्नुहोस्ः
शिशु हेरचाह बिदाका लागि आफ्नो कम्पनीको रोजगार बिमामा छिरेको छ भने शिशु हेरचाह बिदामा बस्ने हुँदा पहिलो ६ महिना आफ्नो तलबको लगभग ६७ प्रतिशत शिशु हेरचाह बिदा लाभ प्राप्त गर्न सकिन्छ भने ६ महिना पछि ५० प्रतिशत प्राप्त गर्न सकिन्छ । यो सुबिधाको लागि मासिक तलब अधिकतम ४५ मान (४ लाख ५० हजार) येन सम्म मापदण्ड राखिएको छ । यदि रोजगार बिमा अहिलेसम्म नगरेको भए दुई वर्ष अगाडिको समयबाट गर्न सकिन्छ ।
रोजगारदाताहरूले कामदारहरू राख्दा औद्योगिक दुर्घटना बिमा र रोजगारी बिमामा सामेल हुन बाध्य हुन्छ । सर्तहरू पुरा भएमा बाल हेरचाह बिदाको अवधिको लागि बाल हेरचाह बिदा लाभहरू प्राप्त गर्न सम्भव हुन्छ ।
निसन्देह, बिमा प्रिमियमहरू व्यवसाय कम्पनीले मात्र नभई बिमामा प्रवेश गर्ने ब्यक्तिले पनि भुक्तान गर्नु पर्ने हुन्छ । बाल हेरचाह बिदा प्रति बच्चा एक पटक मात्र लिन सकिने नियम थियो, तर अक्टोबर २०२२ देखि दुई वटा छुट्टै बिदा लिन सम्भव भएको छ । थप रूपमा बच्चा जन्मिए पछि बाल हेरचाह बिदाको नयाँ नियम लागु भएको छ जसले कर्मचारीहरूलाई बच्चाको जन्म भएको आठ हप्ता भित्र चार हप्तासम्म बाल हेरचाह बिदा लिन अनुमति दिएको छ । यो अवधिमा पेन्सन र कोकुमिन केनकोऊ होकेनको बिल पनि तिर्नु नपर्ने छुटको सुबिधा छ । बाल हेरचाह बिदा लाभहरू करबाट छुट हुने हुँदा आयकर लाग्दैन ।
आगामी आर्थिक वर्षको लागि आवास (निवास) करको गणनामा यो रकम समावेश गरिँदैन । सामाजिक बिमा प्रिमियमहरू पनि छुट पाइने हुन्छन, साथै पेन्सनको छुट दिएको भनिए पनि भविष्यको पेन्सन भने घटने छैन । साथै २०१९ को ४ महिनाबाट सुत्केरी अबधिमा ब्यक्तिगत ब्यवसायको ब्यक्तिलाई पनि कोकुमिन केनकोऊ होकेनको रकम तिर्नु नपर्ने भएको छ ।
बाल हेरचाह छुट्टी सर्तहरू:
१) एउटै कम्पनीमा एक वर्ष भन्दा बढी कार्यरत भएको हुनु पर्ने
२) बच्चाको पहिलो जन्मदिन पछि पनि रोजगारी जारी रहने सर्त हुनु पर्ने
३) बच्चाको दोस्रो जन्मदिनको अघिल्लो दिनसम्ममा श्रम सम्झौताको अवधि समाप्त भएको खण्डमा यो सम्झौता नविकरण हुनु पर्ने सर्त छ ।
यदि रोजगारी अवधि एक वर्ष भन्दा कम छ वा करार कर्मचारी वा अस्थायी कर्मचारीहरूको लागि रोजगार सम्बन्ध एक वर्ष भित्र समाप्त हुने थाहा भएमा बाल हेरचाह बिदा लिन पाईने छैन ।
एउटै कम्पनीमा एक वर्ष भन्दा बढी कार्यरत भएको ब्यक्तिले १ वर्ष बाल हेरचाह बिदा लिई काममा फर्किएपछि कम्तिमा एक वर्ष काम गर्ने अपेक्षा गरिएको हुन्छ ।
बच्चाको उपचार खर्च पनि बच्चा जन्मिए देखि च्युउ गाक्को पास नहुने बेलासम्म अधिकांश सिटी अनुसार फ्री हुने व्यवस्था पनि गरेको छ । कम्पनी स्याच्यों (कम्पनी प्रमुख) कामदार नभएकाले श्रम मापदण्ड ऐन लागु हुँदैन । त्यसैले बाल हेरचाह र परिवार हेरचाह बिदा कानुन लागु हुँदैन ।
यद्यपी, स्वास्थ्य बिमा कानुन र पेन्सन बिमा कानुनले बच्चा जन्माउनु अघि र पछिको सुत्केरी बिदाको आफ्नै परिभाषाहरू दिने हुन्छ (बिदा अवधि श्रम मापदण्ड ऐनको कानुन अनुसार नै हो) । तसर्थ, स्याच्यों र कर्मचारी दुवैलाई सुत्केरी बिदाको समयमा स्याखाई होकेन (पेन्सन+इन्सुरेन्स) प्रिमियमबाट छुट दिइन्छ ।
कम्पनी प्रमुखको हकमा के हुन्छ ?
सुत्केरी बिदाको समयमा प्राप्त हुने सुत्केरी भत्ता लाभ स्वास्थ्य बिमा प्रणालीद्वारा उपलब्ध गराइने हुनाले कम्पनी प्रमुख (ओनर) र कर्मचारी दुवैले समान पाउँछन । बाल हेरचाह लाभ कर्मचारीहरूलाई मात्र उपलब्ध हुने हुन्छ । कम्पनी प्रमुखको लागि पनि बाल हेरचाह बिदा प्राप्त गर्न सकिए पनि यो अबधिमा स्याखाई होकेन (पेन्सन+इन्सुरेन्स) को छुट भने प्राप्त गर्न सकिँदैन ।
कम्पनी प्रमुख कोयो होकेनमा छिर्न नमिल्ने हुनाले बाल हेरचाह बिदाको लाभ प्राप्त गर्न मिल्दैन । अन्तमा कर्मचारीको गर्भावस्था वा सुत्केरीको कारण देखाई कर्मचारीलाई असुबिधा हुने कुनै पनि निर्णय गर्न पाइने छैन ।
यो अबस्थामा कामबाट निकाल्ने वा बिदा पछि काममा फर्किएपछि ३० दिन भित्र कुनै पनि कारण देखाई कामबाट निकाल्न पाइने छैन ।
“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”