जब एक परिवारले डेढ वर्ष शवसँगै बितायो, २४ सै घन्टा एसी, हरेक दिन कपडा फेरियो

मृत्युअघि कमलेश र मृत्युको एक वर्षपछि कालो भएको कमलेशको शव

भारतको कानपुरमा एउटा परिवारले करिब डेढ वर्ष शवसँग बिताएको खबर बाहिर आएको छ ।

३५ वर्षीय विमलेश सोनकरको कोरोनाको दोस्रो लहरका क्रममा २२ अप्रिल, २०२१ मा मृत्यु भएको थियो । अस्पतालले डेथ सर्टिफिकेट पनि दिएको थियो । तर विमलेशको परिवारले भने उनको मृत्यु नभएर कोमामा गएको ठानेको थियो ।

उनका पत्नी, छोराछोरी, दुई भाई र आमाबुवासहित एउटै घरमा बस्दै आएका थिए । अर्थात जहाँ डेढ वर्षदेखि विमलेशको शब थियो, त्यहाँ एकै परिवारका १० जना बस्थे । विमलेश कर अधिकारी थिए ।

डेढ वर्षभन्दा लामो समयदेखि कार्यालय नगएको र मृत्युको पनि खबर नआएपछि शुक्रबार उनलाई खोज्दै आयकर विभागको टोली उनको घरमा पुग्दा उनको कोठामा ममीजस्तो भइसकेको उनको शब फेला पारेको हो ।

यो घटना बाहिर आएपछि डेढ वर्षसम्म उनको शव घरमै राख्न कसरी सम्भव भयो ? शव किन सडेन ? परिवारले कसरी शवलाई सुरक्षित राखे ? शवसँग परिवारले कसरी समय बितायो ? जस्ता अनेकौं प्रश्न उठेका छन् ।

अन्तिम संस्कारअघि शरीर हलचल भएको अनुमान

विमलेश कुमार आयकर विभाग अहमदाबादमा सहायक अधिकृत पदमा कार्यरत थिए । कोभिडको दोस्रो लहरमा उनको स्वास्थ्य बिग्रियो । परिवारले उनलाई अहमदावादबाट लखनउ लगे ।

त्यहाँ सुधार नभएपछि फेरि कानपुर पुर्‍याए र बिरहाना रोडस्थित मोति नर्सिङ होममा भर्ना गरे । उपचारका क्रममा २२ अप्रिल, २०२१ मा उनको मृत्यु भयो । अस्पतालले डेथ सर्टिफिकेट बनाएर शव परिवारको जिम्मा लगायो ।

२३ अप्रिलमा परिवारले अन्तिम संस्कार गर्ने तयारी गरेको थियो । तब शरीरमा केही हलचल भएको अनुभव परिवारका सदस्यले गरे । हातमा अक्सिमिटर लगाएपछि पल्स रेट र अक्सिजन लेभल देखायो । त्यसपछि परिवारले अन्तिम संस्कार रोके ।

कोरोनाको समय भएकाले अन्तिम संस्कारमा परिवारका सदस्य मात्रै थिए । परिवारले फेरि अर्को अस्पताल भर्ना गर्ने कोशिस गरे । कोभिड महामारीका कारण कुनै अस्पतालमा भर्ना गर्न सहज थिएन । कुनै अस्पतालले परिवारको कुरा पनि सुनेनन् र भर्ना पनि लिएनन् ।

शव जिउँदो सम्झिएर घरमा लगे

कतै भर्ना गर्न नपाएपछि थाके र हार मानेर विमलेशको शव जिउँदो ठानेर घर लगे । यसपछि विमलेशकी बैंककी अफिसर पत्नी मिताली, बाबु राम अवतार, आमा र साथमा रहेका दुई भाइ दिनेश र सुनील शवलाई जिउँदो सम्झेर स्याहार सुसार गर्न थाले ।

बिहान बेलुकै डेटोलले सफाई, तेलले मालिस, हरेक दिन बेडका कपडा परिवर्तन गरे र कोठाको एसी २४ सै घन्टा खुला राखे । यो प्रक्रिया डेढ वर्षसम्म चल्यो ।

शुक्रबार शव राखेको जानकारीपछि डा.गौतमको टिम तत्काल घरमा पुग्यो । उनले सबैभन्दा पहिले आमाबाबुलाई सम्झाए र यदि विमलेश जिउँदै भएमा उनलाई तत्काल अस्पताल भर्ना गर्ने बताए । त्यसपछि डाक्टरको टोलीले शवलाई अस्पताल लग्यो । जाँचपछि विमलेशलाई दोस्रोपटक मृत घोषित गरियो ।

डा.गौतमले भने, ‘विमलेश धेरै दुब्ला थिए । कोरोनाका समयमा एक महिना बिरामी हुँदा उनको शरीर झनै कमजोर भएको थियो ।

डा.गौतमका अनुसार शव सड्ने क्रममा त्यसबाट पानी निस्किन्छ र दुर्गन्ध फैलिन्छ । विमलेशको शवबाट जुन पानी निस्किन्थ्यो, त्यसलाई परिवारले डेटोलले बारम्बार सफा गर्थे । त्यसकारण शवमा ब्याक्टेरियाले आक्रमण गर्न पाएन ।

शवलाई तेलले मालिस समेत गरिएको थियो । त्यसले गर्दा शव विस्तारै सुक्दै गयो र ममीजस्तै कालो हुँदै गयो । डेढ वर्षसम्म शवको यस्तो हेरचाह भयो कि छिमेकीले समेत थाहा पाएनन् ।

विमलेशको शव फेला पार्दासम्म त्यहाँ प्रयोग गरिएका कपडाहरु सफा र नयाँ जस्तै थिए । छिमेकीले सोध्दा पनि परिवारका सदस्यहरुले विमलेश कोमामा भएको जवाफ दिने गर्थे । विमलेशका बारेमा खुलेर कुरा नगर्ने भएकाले परिवार अन्य सदस्यको छिमेकमा कुरा कम हुन्थ्यो ।

 विमलेश र उनकी पत्नी मितालीको फाइल फोटो

विमलेशकी पत्नी मिताली को–अपरेटिभ बैंकमा म्यानेजर छन् । उनी किदवाई नगर शाखामा कार्यरत छिन् ।

उनले भनिन्, ‘पतिको निधनपछि बुवाआमालाई गहिरो सद्मा भयो । उनीहरु छोराको मृत्यु स्वीकार गर्न तयार थिएनन् । एक पटक त मलाई पनि श्वास चलिरहेको जस्तो लाग्यो । जब शरीर कालो हुँदै गयो र पुरै सुक्यो, तब मलाई अब शरीरमा केही बाँकी छैन भन्ने लागेको थियो ।’

मिताली भन्छिन्, ‘मैले सासुससुरालाई सम्झाउने प्रयास गरेपछि उनीहरु झगडा गर्न थाले । उनीहरु छोराको मृत्यु स्वीकार गर्न तयार नभएपछि मैले विरोध गर्न सकिनँ । डेढ वर्षसम्म मैले सासु ससुरा र परिवारको बोलीमा हो मा हो मिलाउनुपर्‍यो । त्यसपछि मैले आयकर विभागमा विमलेशका बारेमा जानकारी दिएँ ।’

त्यसपछि आयकर विभागले यसबारे जानकारी कानपुर डीएमलाई दियो र आयकर विभागको टोली प्रहरीसहित विमलेशको घर पुगेपछि घटना सार्वजनिक भएको हो ।

पुरै परिवार सरकारी जागिरे

विमलेशको पुरै परिवार सरकारी जागिरमा छ । पत्नी मिताली बैंकको म्यानेजर छिन् । मितालीका १७ महिनाकी छोरी दृष्टि र ४ वर्षका छोरा सम्भव छन् । छोरा शहरका राम्रो स्कुलमा पढ्छन् ।

बाबु राम अवतार अर्डिनेन्स फ्याक्ट्री कानपुरबाट रिटायर्ड भएका हुन् । सानो भाई दिनेश सिंचाई विभागमा हेड असिस्टेन्ट पदमा कार्यरत छन् भने अर्का भाई सुनील विद्युत विभागमा ठेकेदारी गर्छन् ।

कानपुर प्रहरी कमिश्नर बीपी जोगदण्डले यो घटनामा एडिसन सीएमओको निर्देशनमा डाक्टरको टिमले जाँच गरिरहेको छ । जसमा अन्धविश्वासको कारण शव सुरक्षित राखिएको हुनसक्नेतर्फत अध्ययन गरिरहेको छ ।

शवमा कुनै केमिकल लगाएर सुरक्षित राखिएको हुनसक्नेतर्फ पनि अध्ययन भइरहेको छ । पोस्टमार्टम पछि परिवारलाई अन्तिम संस्कारका लागि शव जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?