नेप्सेमा नजिकको उचाईबाट ४१ प्रतिशत रिट्रेसमेन्ट, तरलता सहजको खबरले बढ्यो बजार

२४ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एक आपसमा गर्ने अन्तर बैंक कर्जाको ब्याजदर घटेको, बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको खबरहरु आएपछि बजारले सकारात्मक दिशा समातेको छ ।

नेप्से परिसूचक कारोबारको मध्यमा घटेपनि लगभग सुरु र अन्त्यमा बढ्ने क्रममा नै देखिएको थियो । नेप्से १२ अंकले बढेर १४४३ विन्दुमा आइपुगेको छ ।

४ प्रतिशत माथि रहेको अन्तर बैंक ब्याजदर २ प्रतिशतको हाराहारीमा आएको र बैंकिङ प्रणालीमा पनि तरलता सहज रहेको खबर आएपछि बजारमा सकारात्मक प्रभाव परेको हो ।

यसपटक पनि बैंकहरुमा तरलता नभई कर्जा योग्य लगानी अभावको समस्या देखिएकोले ठुलो सुधारको अपेक्षा गर्न नहुने बजार सरोकारवालाहरु बताउछन् ।

नजिकको उच्च बिन्दु १५२० र न्युन विन्दु १३९० को आधारमा हेर्दा नेप्सेले अहिले ४१ प्रतिशत रिट्रेसमेन्ट लिएको छ । नेप्सेले लगभग ६० प्रतिशत रिट्रेसमेन्ट लिएमा १५२० सम्म पुग्ने सम्भावना बलियो हुनेछ । रिट्रेसमेन्टका २३, ३८, ५० र ६१ प्रतिशतको तहलाई महत्वपूर्ण टेवा वा प्रतिरोधको रुपमा हेरिन्छ । बढ्ने क्रममा प्रतिरोध र घट्ने क्रममा टेवाको रुपमा यी विन्दुलाई हेरिन्छ ।

आइतबारको तुलनामा सोमबार बजार बढेपछि कारोबार रकममा भने सुधार आएको छ । आइतबार ३६ करोडको कारोबार भएको बजारमा सोमबार ४६ करोडको सेयर किनबेच भयो ।

होटेल समूहको परिसूचक घटेपनि अन्य सबै समूहको परिसूचक बढेको छ । बीमा र टेलिकम सूचीकृत ‘अन्य’ समूहको परिसूचक १ प्रतिशतसम्मले बढेको छ ।

यस दिन मल्टिपपर्स फाइनान्स र एशियन लाइफ इन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरु आकर्षित देखिए । कम्पनीहरुको सेयर क्रमशः ९ र ५ प्रतिशतको दरमा वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?