रोहिंज्यामाथि आक्रमण गरेको स्वीकार

म्यानमारको सुरक्षा फौजले गत अगस्ट महिनामा राखाइन प्रान्तमा विद्रोहीहरुविरुद्ध गरिएको क्रुर कारबाहीका क्रममा रोहिंज्या मुसलमानको गैरकानूनी रुपमा ज्यान लिने काम गरेको भनी स्वीकार गरेको छ।

६ लाख ५० हजार भन्दा बढी रोहिंज्याहरु बांग्लादेश भाग्न बाध्य भएका थिए।

त्यहाँ तिनीहरुले बताएका म्यानमार सेनाले गरेको दुर्व्यवहारको विवरण सुनेर केही मानवअधिकार समूहहरुले त्यसलाई मानवताविरुद्धको अपराध भनेका छन्।

किन आए म्यानमारका सेना प्रमुख नेपाल?

रोहिंज्या संकटः राष्ट्रसंघमाथि प्रश्न

अनुसन्धान
गत नोभेम्बरमा सेनाको एउटा आन्तरिक अनुसन्धानले सबै सुरक्षाकर्मीले सेनाको कानूनले दिएको अधिकारअनुरुप कारबाही गरेको निष्कर्ष निकालेको थियो।

तर गत महिना सेनाले १० जनाको सामूहिक चिहानबारे अनुसन्धान गरिरहेको जनाएको थियो।

म्यानमार सेनाले रोहिंज्याहरुको ज्यान लिएको भनी स्वीकार गरेको यो पहिलो पटक होइन।

गत अगस्टमा सुरक्षा फौजलाई बर्बर प्रतिरोधका निम्ति उक्साएको भनिएको रोहिंज्या लडाकुहरुको आक्रमण लगत्तै सैनिक कमाण्डरहरुले ३७१ जनालाई मारिदिएको बताएका थिए।

रोहिंज्यातस्वीर कपीराइटREUTERS
सेनाले त्यसरी मारिएकाहरुलाई आतंककारी भनेको थियो।

त्यसक्रममा १४ जना सहकर्मी गुमाएको उनीहरुले जनाएका थिए।

तर हिंसाबारे आफ्नै अनुसन्धान शुरु गरेपछि उनीहरुले आफ्ना सुरक्षाकर्मीका सबै कारबाही कानूनसम्मत रहेकोमा जोड दिएका थिए।

अहिले सशस्त्र फौजका कमाण्डरको फेसबुक पेजमा एउटा वक्तव्य आएको छ, जसमा कब्जामा रहेका १० जना रोहिंज्या सुरक्षाकर्मी र स्थानीय मानिसहरुद्वारा कसरी नियतवश् मारिए र सामूहिक रुपमा चिहानमा गाडियो भन्ने उल्लेख छ।

सेनाले गल्ती गरेको पहिलो पटक स्वीकार गर्दै त्यसमा जिम्मेवार रहेकाविरुद्ध कारवाही गर्ने प्रतिवद्धता जनाइएको छ।

‘आतंकको अभियान’
बांग्लादेश पुगेका रोहिंज्या शरणार्थीहरुले आफूहरुविरुद्ध म्यानमारको सेना र प्रहरीले ‘आतंकको अभियान’ नै चलाएको टिप्पणी गर्दै त्यसक्रममा ठूलो संख्यामा महिला, पुरुष र बालबालिकाको हत्या गरिएको बताएका छन्।

एउटा सहायता समूहले शरणार्थीहरुबाट संकलन गरेको तथ्याङकमा जनाइएअनुसार म्यानमारको सेनाले रोहिंज्या मुसलमानविरुद्ध गरेको कारबाहीको पहिलो महिनामा मात्रै झण्डै सात हजार रोहिंज्या मारिएको हुनसक्ने अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?