चीनले पनि चाल्यो उत्तर कोरियामाथि ठुलो कदम, इन्धन आपुर्ति नै बन्द

टोकियो ।  चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थको निर्यातको मात्रा घटाएको जनाएको छ । चीनले अक्टोबरको सुरुदेखि नै सो आपूर्तिको मात्रा घटाउने वा नियन्त्रण गर्ने यसअघि नै जनाएको थियो । 
चिनियाँ बाणिज्य मन्त्रालयले सो जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तररूपमा गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएको छ ।

सोही नाकाबन्दीस्वरुप चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडापार्दै उक्त निर्णय गरेको हो । त्यसैगरी सो मुलुकबाट आफूले गर्ने कपडाको आयात पनि बन्द गरिएको घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघले तयार पारेको चीन तथा उत्तर कोरियाबीचको भन्सार तथ्याङ्कअनुसार सन् २०१६ मा चीनबाट प्रतिदिन छ हजार ब्यारेल इन्धन उत्तर कोरिया निर्यात गरिएको थियो ।

तर चीनले सन् २०१४ पछि उत्तर कोरियालाई दिने गरेको इन्धनको तथ्याङ्क सार्वजनिक नगरेका कारण इन्धन निर्यातको वास्तविक तथ्याङ्क भने सार्वजनिक हुन नसकेको बताइएको छ ।

शुरुमा वासिङ्टनले उत्तर कोरियामाथि पूर्णप्रतिबन्ध लगाउन आग्रह गरेपनि चीन र रुसको समर्थन लिन पछि उक्त अडानमा अमेरिका केही लचिलो बनेको हो ।

उत्तर कोरियालाई चीनले सहयोग गर्दै आएको आरोप अमेरिकाको थियो । अमेरिकाले चीन उत्तर कोरियाको प्रमुख ब्यापार सहयोगी रहेको र यी दुई देशबीच ठूलो मात्राको आर्थिक क्रियाकलाप हुने गरेको बताउदै आएको छ ।

पछिल्लो समयमा उत्तर कोरियाले शक्तिशाली आणविक परीक्षणहरु गर्दै आएको छ । ती परीक्षणबाट विश्वमा हतियारको होडबाजी सुरुहुने त्रास बढ्दै गएको बताउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?