इजिलिंक रेमिट्यान्सको आयोजनामा जापानमा ‘म यस्तो गीत गाउँछु’ को सफल प्रदर्शन

टोकियो । चर्चित चलचित्र ‘म यस्तो गीत गाउँछु’ को जापानमा सफल प्रदर्शन भएको छ । यो वर्षकै चर्चित चलचित्रका रुपमा नेपाली सिने बजारमा आएको ‘म यस्तो गीत गाउँछु’ले जापानमा अपार सफलता पाएको छ ।

जापानका दुई स्थानमा यो चलचित्रको शो भैसकेको छ । पहिलो शो उचुनोमियामा भएको थियो भने आइतबार साँझ टोकियोमा सफल प्रदर्शन भयो । प्रेम कथामा आधारित चलचित्र टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा प्रदर्शन गरिएको थियो ।

चलचित्रमा पल शाह, पुजा शर्मा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा लगायतका कलाकारले अभिनय गरेका छन् । सुदर्शन थापा निर्देशित यो चलचित्रले प्रेमको कथामा आधारित छ। अर्जुन पोखरेलको संगीत रहेको चलचित्रको कथावस्तुलाई जापानमा रहेका नेपाली दर्शकहरुले उत्कृष्ट चलचित्रको संज्ञा दिए ।

‘म यस्तो गीत गाउँछु’को जापान प्रदर्शनबाट उठेको सम्पूर्ण मुनाफा रकम स्वेताश्री फाउण्डेसनलाई दिइने भएको छ । ‘एकीकृत माझी टोल विकास परियोजना’ निर्माणका लागि सहयोग संकलनार्थ चलचित्र प्रदर्शनमा ल्याइएको आयोजकले जनाएको छ ।

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको जन्मस्थान सिन्धुपाल्चोकको माझी गाउँ पुननिर्माणका लागि फाउण्डेसनले काम बढाई रहेको छ । त्यहाँ ५६ घर निर्माण गरिने छ ।

सो चलचित्रको आयोजक इजिलिंक रेमिट्यान्स रहेको छ भने वजार व्यवस्थापन सनराईज प्रोडक्सन्सले गरेको छ । जापानको अन्य क्षेत्रमा समेत प्रदर्शन हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?