‘जापानका नेपाली कुक असल लोग्ने कि जोईटिंग्रे पोई’

लेखक: लक्ष्मण कार्की

हाम्रो समाजमा चलेको “श्रीमान श्रीमती एक रथका दुई पांग्रा” भन्ने उखानले नै श्रीमान श्रीमती एक अर्काका सहयोगि हुन् भनेर बुझ्न गार्हो हुँदैन ।

फेरी पनि हाम्रो समाजमा श्रीमान श्रीमतीले आपसमा गर्ने सहयोगलाई पनि चर्चाको बिषय बनाईएको देख्दा अझै पनि हामीमा “नारी पुरुष बराबरी” या “एक रथका दुई पांग्रा” भन्ने उखानलाई नै खिल्ली उडाएका छौ कि जस्तो लाग्छ ।

हाम्रो यहि समाज हो जहाँ एकै प्रकारका कामलाई पनि कतिपयले राम्रो त कतिपयले नराम्रो रुपमा हेर्ने गर्छन् । यदि श्रीमानले घरायसी काम लत्ता कपडा धुने, खाना पकाउने, भाडाकुडा धुने, घर सरसफाई गर्ने, पधेंरोबाट पानी ल्याउने, लिपपोत गर्ने जस्ता आदि काम गरेर श्रीमतीलाई सहयोग गरेमा एकातिर असल लोग्नेको दर्जा दिने मान्छेहरु छन् भने अर्को तर्फ जोईटिंग्रे पोई भन्नेहरु पनि प्रसस्त भेटिन्छन ।

अझै छोराले बुहारीलाई यस्ता काममा सहयोग गरेमा आफ्नै छोरा जोईटिंग्रे ठान्ने आमाहरु देख्दा महिला माथि अन्याय कतै न कतै महिलाबाट नै शुरु भएको हो कि जस्तो पनि लाग्छ ।

हाम्रो समाजले दिएको यहि उपमा जोईटिंग्रे पोईसंग सम्बन्धित कुरालाई आज उठाउन मन लाग्यो।तर आफ्नै घर सिसाको हुनेले अर्काको घरमा ढुंगा नहानेकै राम्रो हो भन्छन् त्यसैले पनि अरु जापानमा आएकाहरुले के गरे त्यस तर्फ जानु उपयुक्त ठानिन र कुकसंग मात्र सम्बन्धित रहेर आफ्ना विचार व्यक्त गर्न उपयुक्त ठानेको छु ।

जापानमा काम गर्ने हामी कुकहरुको अबस्था के कस्तो छ भन्ने कुरा जापानमा हुने सबै नेपालीले बुझेको कुरा हो।सीप भए पनि नभए पनि कुक बनेर जापान छिर्ने हामी कुकहरुको संख्या धेरै हुनाले पनि जापानमा राम्रो तलब पाउन गार्हो छ ।

कुक बनेर जापान आउँदा जे जस्तो सपना देखेर जापान छिरिएको हुन्छ।ति सपना पुरा गर्ने आशा भन्दा आउँदा गरेको ख़र्च कसरी तिर्ने भन्ने चिन्ता लिनु पर्ने अबस्थाले गर्दा कुकहरुका लागि बिकल्प खोज्न पर्ने अबस्था जापानमा छ ।

त्यसपछि सबै भन्दा सजिलो उपाय श्रीमतिलाई जापान बोलाउनु नै हो चाहे दुधे बालक छोडेर होस् या बृद्द बाबु-आमा छोडेर नै किन नहोस् ।

कुकको आम्दानीले श्रीमान श्रीमतीको ज्यान पाल्न र कोठा भाडा तिर्न पनि पुग्ने अबस्था छैन भनेर भन्दा पक्कै अन्यथा हुने छैन ।

साथै यसो भन्दैमा सबैको अबस्था यहि हो भन्ने अर्थमा बुझ्नु पनि गलत हुनेछ। नेपालमा भएका परिवारलाई राम्रो शिक्षा दिने र सुखसयलमा राख्ने ईच्छा अनि धन कमाउने सपना मनमा बोकेर श्रीमतीलाई काममा लगाउनु पर्ने विवशता प्राय सबैको हो ।

त्यसै माथि नियमानुसार तोकेको समय भन्दा बढ़ी काम गर्नुपर्ने बाध्यता छ । यसरी पैसा कमाउने दौडमा लाग्दा सबै कुकका श्रीमतीहरुले लामो समय सम्म जापानी कम्पनीमा काम गर्नु पर्ने बाध्यता पनि प्राय सबैको उस्तै छ ।

त्यसपछि असल लोग्ने बन्ने या जोईटिंग्रे पोई भन्ने कुराको शुरुवात हुन्छ । यो समाजले श्रीमतीलाई सघाउने श्रीमानलाई असल लोग्ने भनेको छ र जोईटिंग्रे पनि।आख़िर जापानमा कुक भएर आएका जो कसैले दुईपैसा बचत गर्न श्रीमतिलाई काममा पठाउनै पर्ने अबस्था छ।त्यो मेरोमा पनि छ र अरुको हकमा पनि छ फरक यत्ति हो कसैले सजिलै स्वीकार्लान कसैले स्वीकार्न नसक्लान ।

एकातिर सामाजिक मान्यता छदैछन् तर ति मान्यतालाई मानेर श्रीमानको अहम् बोकेर श्रीमतीलाई घरायसी काममा नसघाए बिचरा कसरी काम गरेर घर व्यवहार चलाउने भन्ने कुरा सोचनीय छ ।

दिनभर काम गरेर कामले लखतरान परेर आएकी श्रीमतीको अबस्था देखेर खानाको बन्दोबस्त गरी काममा जानु पर्ने, हप्ताभरी काम गर्नेले एकदिनको छुट्टीमा कोठा सरसफाई गर्नु पर्ने, मेसिनमा भए पनि लत्ता कपड़ा धुन सघाउन पर्ने यहाँको दैनिकी हो ।

समग्रमा भन्दा नेपाली समाजले आईमाईले गर्ने काम भनेर छुट्याएको काम गर्न पर्ने अबस्था जापानमा रहेका प्राय धेरै नेपाली कुकहरुको रहेको छ ।यो अवस्थामा जापानका रहेका हामी नेपाली कुक असल लोग्ने कि जोईटिंग्रे पोई भन्ने सवाल विचारणीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?