भूकम्पमा सहयोग गर्ने जापानीलाई धन्यवादसहित नेपाल भ्रमणको सामूहिक निम्तो दिइने

टोकियो । गत वर्ष बैशाख १२ अर्थात अप्रिल २५ तारिखका दिन गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट भएको क्षतिमा निश्वार्थ रुपमा सहयोग गर्ने जापानीहरुलाई धन्यवाद सहित नेपाल भ्रमणको सामूहित निम्तो दिइने भएको छ ।

जापानस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको संयुक्त आयोजना तथा जापानमा क्रियाशील विभिन्न संघसंस्थाहरुको उपस्थितिमा जापानीहरुमा आभार व्यक्त गर्दै नेपाल भ्रमणका लागि सामूहिक निम्ता दिने कार्यक्रम आयोजना गर्न लागिएको हो ।

गत वर्ष अप्रिल २५ तारिख जापानी समय अनुसार ३ बजेर ११ मिनेटको समयमा नेपालमा विनाशकारी भूकम्प गएको स्मरण गर्दै सोही दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म कार्यक्रमको आयोजना गर्न लागिएको जापानस्थित कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले जानकारी दिए ।

जापानमा रहेका हजारौं नेपालीहरु आफ्नो राष्ट्रिय पोशाक र सांस्कृतिक झाँकीहरु सहित जापानको सडकमा उत्रिएर जापान र जापानी सरकारलाई धन्यवाद लेखिएका  पोस्टकार्डहरु बोकेर प्रदर्शन गर्नेछन् ।

सो प्रदर्शनीमा जापान र नेपालको घनिष्ट सम्बन्ध झल्काउने व्यानर र धन्यवाद लेखिएको पोस्टकार्डहरु बोक्ने तथा जापानीहरुलाई बाँड्ने कार्यक्रम रहेको राजभण्डारीले जानकारी दिए ।

भूकम्पको वार्षिकीमा ज्यान गुमाएका परिवारहरुको सम्झनामा हुन लागेको कार्यक्रमले नेपाल र जापानबीच थप नयाँ सम्बन्धको आयाम थप्ने र नेपाली पर्यटनको क्षेत्रमा थप नयाँ विकास हुने आशा राखिएको उनले बताए ।

सो कार्यक्रममा नेपाली राष्ट्रिय पोसाक तथा साँस्कृतिक झाँकीसहित सहभागी हुन जापानमा रहेका हजारौं नेपाली र जापानीलाई कार्यबहाक राजदूत राजभण्डारीले अपील गरेका छन् । जापानमा यसरी हजारौं नेपालीहरुले कार्यक्रम गर्दा सकारात्मक सन्देश जाने र नेपालको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?